रमेश कुमार यादब
चैत २७ ,रौतहट
रौतहटमा रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा भक्तजनहरुको आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा रौतहटको बृन्दावन नगरपालिकाको वार्ड नं.३ स्थित रहेको बिश्रामपुरको बाबा बिश्वम्भरनाथ मन्दिर स्थित रहेको श्रीरामचन्द्र मन्दिर लगायत रौतहटको बिभिन्न राम मन्दिरहरुमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।आफ्नो मनोकमना पुरा हुने भनि बिश्वासका साथ भक्तजनहरुले पुजाआज गरेका सोहि मन्दिरका नियमित पुजा पाठ गर्ने पुजारीले बताएका छन ।असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका थिए। रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख रहेका छन । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको बृन्दावन नगरपालिकाको वार्ड नं.३ बस्ने सत्य नरायण यादब ब्यासले बताउनु भएका छन । रामनवमीको अवसरमा सरकारले आईतबार देशभर सार्वजनिक बिदा दिएको थियो ।