राैशन चाैधरी ।
वैशाख ७ गते, रौतहट ।
रौतहटमा केरा जोन बजार सञ्जाल विकासका लागि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ।
जिल्लाको मध्यभाग गरुडामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालयको सभाहलमा उक्त गोष्ठी बुधबार सम्पन्न भएको छ।
जिल्लामा केरा खेती विस्तार तथा विकासका लागि के कस्ता समस्याहरू छन् ती समस्यालाई समाधान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय गरुडाले उक्त गोष्ठीको आयोजना गरेको थियो।
गोष्ठीमा केरा खेतीलाई कसरी अझ विस्तार गर्ने, केरा खेतीमा लागेका किसानलाई केरा उत्पादन गर्न के के समस्या छन्, ती समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सरोकारवाला हरुसंग विशेष छलफल गरिएको छ।
पछिलो समय आवस्यक सीप र ज्ञानको अभावमा जिल्लाका अधिकांश किसान केरा खेती नगरी अन्य खेती गर्न बाध्य रहेकाले ट्रेनिङ्गको माध्यमले किसानलाई केरा खेती गर्नेतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय गरुडाका प्रमुख दीपक कुमार मिश्र जानकारी दिएका छन्।
जिल्लामा बजारको उचित व्यवस्थापन नहुँदा किसानहरूले उत्पादन गरेको केरा बिक्री गर्न निकै समस्या हुने गरेको छ ।
जिल्लामा बजारीकरणको व्यवस्था नहुँदा किसानहरूले आ आफ्ना खेतमा उत्पादन गर्ने गरेको केरा सर्लाही, बारा, पर्सा लगायत जिल्लाको बजारहरुमा लगेर बिक्री गर्न बाध्य रहेका छन् ।
जिल्लामा केराको बिक्री राम्ररी नहुँदा किसानहरू केरा खेती नै गर्न छाडेकोले बिस्तारै केरा कम हुँदै गएको छ ।
किसानहरू केरा खेती गर्न छाडेपछि केराको उत्पादन समेत घट्ने चिन्ता सरोकारवालाहरुलाई भएको छ ।
केरा खेतीलाई कसरी विस्तार र विकास गर्न सकिन्छ भन्ने बारेमा गोष्ठीमा व्यापक छलफल भएको गोष्ठीमा सहभागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन कार्यालयका प्रमुख मिश्रले बताए ।
नेपालका धेरैजसो तराई तथा भित्री मधेशमा राम्रो संग खेती गर्न सकिने उच्चमूल्यका बालीहरु मध्ये केरा खेती पनि एउटा गतिलो आयमूलक बाली हो । यसलाई कम लागत तथा छोटो समयावधिमा नै सन्तोषजनकरुपमा उत्पादन लिन सकिने भएबाट यसको खेती दिनानुदिन बढ्दै जानुले सट्टा घट्दै जानु ले सरोकारवालाहरुलाई चिन्तित भएका छन् ।
स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि केरा अन्य फलफूल भन्दा अगाडि र शक्ति प्रदान गर्नेमा उत्कृष्ट मानिन्छ । केरामा भिटामीन ए, वी र सी सन्तोषजनक रुपमा प्राप्त हुन्छ ।
यसको खेती तराई, पहाड र भित्रीमधेशहरुमा अति प्राचीनकालदेखि नै गरिदै आएको हुँदा यसलाई विश्वको प्रमुख फलको रुपमा लिइने गरिन्छ ।
केरा खेती सञ्चालन गर्दा सर्वप्रथम तापक्रममा बढी ध्यान दिनुपर्ने हुन्छ । राम्रो केरा खेती गर्नको लागि सामान्यतया २० देखि ३० डिग्री सेल्सियस तापक्रमलाई उत्तम मानिएको गोष्ठीमा सहभागीहरूलाई जानकारी दिइएको छ।
यदि तापक्रम १५ डिसे भन्दा कम र ३९ डिसे भन्दा बढी भएमा केराको बृद्धि विकासको साथसाथै फूल फुल्ने कार्य रोकिने हुन्छ तसर्थ तापक्रम बारेमा बढी ध्यान दिनुपर्ने देखिन्छ । यसको खेती सबै खाले माटोमा गर्न सकिन्छ तर पानी नजम्ने, चिस्यान भइरहने बलौटे दोमट माटो यसको लागि उत्तम मानिन्छ । केरा खेती गर्नुपूर्व जमिनलाई खनजोत गरी तयार पार्ने र २ देखि ३ मिटरको फरक–फरकमा आधा मिटर लम्बाइ, चौडाइ र गहिराइको खाडल
खनी, त्यसमा पाकेको गोवर या कम्पोष्ट मल माटोमा मिलाई आधाखाडल भर्ने गरी गर्नुपर्ने आदि कुरा गोष्ठीमा सिकाइएको छ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पर्साका प्रमुख दीपेन्द्र मनोहर चौधरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका केरा जोन प्रमुख इन्द्र ढुंगाना, हेल्भेटास नेपालका मधेश प्रदेश प्रमुख कृणलाल कर्ण, उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि दीपेन्द्र झा, कृषि ज्ञान केन्द्र गौरका कृषि विकास अधिकृत अशोक सिंह, नेपाल केरा उत्पादक महासंघ का केन्द्रीय सदस्य हिरासरु मगर तथा कार्लयक्रमकाे उधघाेषण उदय ठाकुरले गरेकाे थियाे । विभिन्न सरकारी कार्यालयका प्रमुख एवं केरा जाेन संचालक समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।