९ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयर (प्रमुख) को टिकट हात पार्न निर्माण व्यवसायी राजेशमान सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट जनता समाजवादी पार्टीमा प्रवेश गरे । आफ्नो भाइको नाममा रहेको फर्मबाट भवन, सडकहरूको ठेक्कापट्टामा भाग लिने उनी यसपटक जसरी पनि मेयर बन्ने गरी कस्सिएका छन् ।
पोखरामा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा आकांक्षी देखिएका विन्दकुमार थापा ‘रियल स्टेट’ व्यवसायी हुन् । मेडिकल क्षेत्रदेखि ठेकेदारीसम्मका व्यवसायमा हात हालेका किरण केसी पनि पोखरा महानगरको मेयरमा नेपाली कांग्रेसबाट आकांक्षी हुन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले भाग पाउने तय भएपछि उनीहरू विलखबन्दमा छन् ।
ठेक्का लिने तर वर्षौंसम्म काम नगर्ने प्रवृत्ति हुँदाहुँदै पनि स्थानीय तह निर्वाचनमा अहिले पनि ठेकेदारहरू नै राजनीतिज्ञको रोजाइमा छन् । राजनीतिक पहुँच प्रयोग गरेर पदीय हैसियत बनाउने र सार्वजनिक स्रोतमाथि आधिपत्य जमाउने स्वार्थ समूह देशभरि हावी हुने जोखिम छ ।