चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।
चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले रु १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रु १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रु १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।