वीरगञ्ज १७ बैशाख ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगीको उदासीनताका कारण घण्टाघरस्थित भत्किएको बाटो यो वर्ष पनि मर्मत नहुने भएको छ ।
वीरगञ्ज महानगरका मेयर सरावगीले समयमा ध्यान नदिएका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने सो सडक मर्मतका लागि सडक विभागले निकालेको ठेक्का रद्द भएको छ । रद्द भएका कारण यो वर्ष पनि वीरगञ्जका बासिन्दाले हिलाम्मे सडकमा हिँड्नुपर्ने भएको छ ।
वीरगञ्ज महानगर पालिकाले तदारुकता नदेखाउँदा सो सडक वर्षौंदेखि मर्मत हुन सकेको छैन । वीरगञ्जको मुख्य बजार घण्टाघरबाट माईस्थान जाने बाटो भत्किएर जीर्ण भएको लामो समय बितिसकेको छ ।
यसै त साँघुरो सडक, त्यसमाथि भत्किएर खाल्डैखाल्डा बनेपछि आवागमन असहज बनेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । पानी पर्दा हिलो र घाम चर्किंदा धूलोले स्थानीयलाई सकस भएको छ ।
देशकै मुख्य नाकामा रहेको वीरगञ्जका सडकको दुर्गतिले शहरको छवि नै बिग्रिएको भन्दै स्थानीयले मेयर सरावगीको आलोचना गर्दै आएका छन् । ‘मर्मतका लागि अब आगामी आर्थिक वर्ष कुर्नुपर्ने भयो । बर्खामा ठेक्का र काम दुवै हुँदैन । उता, रजतजयन्ती चोकदेखि मितेरी पुलसम्म १३ सय मिटर सडक मर्मतको काम पनि अझै अघि बढ्न सकेको छैन ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर बिजय कुमार सरावगीले भने उक्त सडक महानगरको क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै पन्छिने गरेका छन् । महानगरपालिकाभित्रको सडक महानगरको अधिकारभित्र नपर्ने बताउनुले उनको असक्षमता स्पष्ट हुन्छ ।
वीरगञ्ज बासी निराश हुनु पनि स्वभाविक नै हो, वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् ।
टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् ।
मेयर पदमा निर्वाचित भए पश्चात आफैले घोषणा गरेका कामसमेत गर्न नसकेका सरावगीले पुनः ठूलाठूला सपना बाँडेर निर्वाचनमा होमिएपछि नगरबासीले उनलाई विश्वास गर्ने आधार पनि देखिँदैन ।
उनले अघिल्लो निर्वाचनताका मेरो कसम नामले बाँडेको सपनाबाट सबै प्रभावित थिए । व्यापारिक पृष्ठभूमिबाट आएका सरावगीसँग काम गर्ने भिजन होला, देशविदेशमा रहेका संघसंस्थासँग सहकार्य गरेर उनले यहाँ नीतिगतदेखि भौतिक रुपमै राम्रा परिवर्तन गर्लान भन्ने नगरबासीको सोच थियो । तर उनि निर्वाचित भएर आएपछि त्यस्तो केहि भएन । महानगरको विकासका लागि योजना लिएर आउने विज्ञहरुलाई उनले आफै पढाएर पठाउने गरेको महानगरकै कर्मचारीहरु बताउँछन् ।
वीरगञ्ज महानगरपालिका भएपनि महानगरसँग हुने कुनै विशेषता नभएको सरावगीले पटक पटक स्विकार गर्दै आउनुले पनि बिकास नभको कुरालाई थप पुष्ठि गरेको छ । ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्न सघन शहरी बिकास कार्यालयले सडक नबनाईदिएको भए आज पनि कच्ची बाटो र धुलो तथा धुवा र हिलोमै नगरबासी पौँठेजोडी खेल्न विवश हुने थिए ।