वीरगञ्ज १९ वैशाख । बैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लाबाट ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पर्सा जिल्लाका १४ वटै पालिकामा नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारमध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएको हो ।
जिल्ला निर्वाचन कार्यालय, पर्साले दिएको तथ्याङ्क अनुसार पर्सा जिल्लाका १४ वटै पालिकामा उम्मेदवारी दर्ता गराएका दुई हजार ६७० जनामध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएको हो ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जगरनाथपुर, छिपहरमाई, धोबिनी, सखुवाप्रसौनी, ठोरी, जीराभवानी, कालिकामाई, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी, बहुदरमाई र पोखरिया नगरपालिका, तथा वीरगञ्ज महानगरपालिकामा अध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्यलगायतका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पर्सागढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पदका उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । पोखरिया नगरपालिका वडा नम्बर ५ की महिला सदस्य पदका उम्मेदवारले नाम फिर्ता लिएकी छन् ।
छिपहरमाई गाउँपालिका वडा नम्बर १ र २ का वडा सदस्यले नाम फिर्ता लिएका छन् । धोबिनी गाउँपालिका अध्यक्ष र वडा नम्बर ४ को अध्यक्ष पदका उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष र वडा नं १ का महिला सदस्यका उम्मेदवारले नाम फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । कालिकामाई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष र वडा नं ५ का वडा सदस्य पदका उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
बहुदरमाई नगरपालिकामा प्रमुख पदका उम्मेदवार एकजना, वडा नम्बर ४ मा अध्यक्ष पदका उम्मेदवार, वडा नम्बर १ मा वडा सदस्य र दलित महिला सदस्य पदका दुईजना, वडा नम्बर १ मा खुल्ला सदस्य र वडा सदस्य गरी दुईजना, वडा नम्बर ५ मा वडा सदस्य पदका एकजना र वडा नम्बर ६ मा पाँचजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
जीराभवानी गाउँपालिकाबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका एकजना, वडा नम्बर ५ का वडा सदस्य र महिला सदस्य पदका तीनजना उम्मेदवारले नाम फिर्ता लिएका छन् । ठोरी गाउँपालिकामा अध्यक्ष पदका एकजना उम्मेदवारले नाम फिर्ता लिएका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष र सदस्य पदका उम्मेदवारले नाम फिर्ता लिएका छन् ।