वीरगञ्ज २७ वैशाख । रकमी चलखेलका आधारमा भोट प्रभावित गर्न मध्यराती वीरगञ्ज १६ नगवाका कांग्रेस नेता विनोद चौरसीयाको घर पुगेका एमालेको मेयर पदका उम्मेदवार विजय सरावगी साढे दुई घण्टा चौरसीयाकै घरमा थुनिनुपरेको छ ।
गाडी घरमै थन्क्याएर एक सहयोगीका साथमा मोटरसाईकल चढी हाते झोला भिरेर सुटुक्क चौरसीयाको घर छिरेका सरावगीलाई स्थानियले देखेपछि कांग्रेस नेता चौरसीयालाई केरकार गरेका थिए । शुरुमा सरावगि आएका छैनन् भनेका चौरसीयालाई स्थानियले गठबन्धनको नेता भएर तपाईले मध्यराती विपक्षि दलको उम्मेदवारलाई कुन स्वार्थले बोलाउनुभयो भनी र्याखर्याख्ती पारेपछि सरावगी आएको स्वीकार गरेका थिए । उनले सरावगी भोट माग्न आएको र यो विषय अरुको सरोकारको नभएको जवाफ फर्काएका थिए ।
सरावगी घरमा आएको चौरसीयाको स्वीकारोक्तीपछि स्थानियले सरावगीको विरुद्दमा नाराबाजी गरेका छन् । पाँच वर्षे कार्यकालमा भ्रष्टाचारमा लिप्त भई नगरपालिकाको ढुकुटी रित्याएका सरावगीले सोहि पैसाको प्रयोग गरी जनमत खरिद्न हिँडेको भन्दै स्थानिय आक्रोशीत भएका हुन् । भारी मात्रामा उपस्थित भएका स्थानियले सरावगीको विरुद्दमा चौरसीयाको घर बाहिर नाराबाजी गरेपछि उनि करीब साढे २ घण्टासम्म घरभित्रै लुकेर बसेका थिए ।
चौरसीयाको घरमा लुकेका सरावगी स्थानिय र उपस्थित सञ्चाकर्मीलाई छल्न प्रहरीको सहयोगमा पर्खाल नाघेर छिमेकि सुबा साहेब उर्फ सुभनारायण चौरसियाको घर पुगेका थिए भने त्यहाँ बाट पनि भित्रभित्रै पर्खाल नाघि विजय चौरसीयाको घरको साँघुरो गल्लीबाट निस्केर प्रहरीको भ्यानमा चढेका थिए ।
गाडि चढेपछि क्यामराबाट अनुहार जोगाउन सरावगीले टाउको लुकाएका छन् भने प्रहरीले अनुहार छोपिदिएको भिडियोमा प्रष्ट देखिन्छ । प्रहरीले स्थानियलाई हटाएर सरावगीलाई बाहिर निकाल्न खोजेपनि सम्भव नभएपछि केहिबेर प्रहरीले त्यहाँबाट निस्केको नाटक मञ्चन गर्दै भिड हटाउने प्रयास गरेको थियो । त्यसको केहिबेरमा सशस्त्र प्रहरी सहितको थप बल मगाएर चोर बाटोबाट सरावगीलाई प्रहरीले त्यहाँबाट उम्काएर उनको घर पुर्याएको छ । घर नजिक पनी सरावगी प्रहरीको भ्यानबाट हामफालेर पछाडिको ढोकाबाट भित्र छिरेको भिडियोमा प्रष्ट देखिन्छ ।
मध्यराती १२ बजेर ३५ मिनेटमा चौरसीयाको घर छिरेका सरावगिलाई २ बजेर ५१ मिनेटमा प्रहरीले चोर बाटोबाट निकालेको थियो । सरावगी स्थानिय सामु उपस्थित हुनुको साटो चोरले झैँ मुख छोपेर भाग्नुले उनको कर्तुत प्रष्ट भएको स्थानिय रामबाबु पासवान बताउँछन् । मध्यरातमा पैसा बोकेर मत खरिद्न हिँडेका सरावगीले निर्वाचन आचारसंहितको गम्भीर उल्लंघन गरीरहँदा प्रहरी भने उनको बचाउमा लागेको स्थानियले आरोप लगाएका छन् ।
भ्रष्टाचारबाट बद्नाम भएका सरावगी यसपटकको निर्वाचनमा पराजित हुने देखिएपछि आफैँ पैसा बाँड्न कस्सीएका छन् । पैसाकै कारण उनको अघिपछि गरेकाहरुलाई पनि सरावगीले विश्वास नगरेकोले आफैँ पैसा बाँड्न हिँडेको यस घटनाले प्रष्ट पारेको छ ।
जनमत गुमाईसकेका सरावगीले पैसाकै बलमा चुनाव जित्न हरसम्भव प्रयास गरेको पनि छर्लङ्ग भएको छ । त्यसो त उनले यसअघि पनी एमाले प्रवेश गर्दा आफु सँगै एमाले जाने वडाध्यक्षलाई ३० देखि ५० लाख अफर गरेको बारे पनि वीरगञ्जमा चर्चा चल्ने गरेको छ । यस घटनाले गठबन्धनमा सहभागी दलहरु गठबन्धनप्रति ईमान्दार नभएको समेत देखिएको छ ।
नेपाली कांग्रेस पर्साका नेताहरुले गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरिरहँदा प्रकाशमा आएको यस्तो घटनाले कांग्रेस नेताहरुलाई थप जिम्मेवार बन्नुपर्ने देखाएको छ ।