वीरगञ्ज, २७ बैशाख । लोकतान्त्रिक ब्यवस्थाको प्राण मानिने आवधिक निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र कुनै पनि किसिमको अवान्छित गतिबिधिबाट मुक्त राख्न जरुरी हुन्छ भन्दै वीरगञ्जमा पाँच दलीय गठबनधनको तर्फबाट प्रेस विज्ञप्ति जारी भएको छ ।
जनताको सबभन्दा नजिकको सरकार भनिने ‘स्थानीय तह’ को निर्वाचन स्वतन्त्र र निश्पक्ष बनाउन राजनीतिक दल, सरकारका निकायहरु र प्रत्येक मतदाताको भूमिका महत्वपूर्ण रहेको भनिएको छ । यसको ठिक बिपरित वीरगञ्ज महानगरपालिकाको आसन्न स्थानीय तह निर्वाचनको क्रममा विपक्षी नेकपा एमालेका उम्मेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको विज्ञप्तिमा बताइएको छ ।
‘पैसाको बिटो बोकी एमालेका यहाँका मेयर पदका उम्मेदवार विजयकुमार सरावगी वीरगञ्ज –१६, नगवामा पुगेको बेला मध्यरातमा समातिएर जनताको प्रतिवादमा परेका छन् । लोकतान्त्रि ब्यवस्थामा अशोभनीय, अमर्यादित र निकृष्ट गतिबिधिको रुपमा यसलाई लिन सकिन्छ । आम मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापी स्विकार्य हुन सक्दैन,’ घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तिमा भनिएको छ, ‘यस्तो हर्कत आइन्दा नगर्न नगराउन सम्बन्धीत उम्मेदवारलाई चेतावनी दिन चाहन्छौं । त्यसै आफ्नो उम्मेदवारलाई नियन्त्रण तथा मार्यादामा बसाउन नेकपा एमाले पार्टीलाईसमेत आग्रह गर्दछौं ।’
निर्वाचन आचार संहिता बिपरित भइरहेको यस्ता गतिबिधि रोक्न स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय र सूरक्षा निकायको अहिलेसम्म वीरगञ्ज महानगरपालिकामा निर्वाचन आचार संहिता पालना गराउने सवालमा यि निकायहरुको भुमिका सन्तोषप्रद नभएको जनगुनासो पाइएको ध्यानाकर्षण गराइएको छ ।
मतदतालाई आर्थिक प्रभावमा पार्न खोज्ने गतिबिधि नियन्त्रण गरेर प्रतिबादको अवस्थालाई प्रतिकारकमा रुपान्तरण हुनबाट रोक्न तथा संहिता पालना गराउन सम्बन्धीत सबैलाई सचेत हुन आग्रह गर्दछौं । नेपाली काँग्रेसका पर्सा उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष, पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी, पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी, केन्द्रकी केन्द्रीय सदस्य शेष चाँदताराद्वारा विज्ञप्ति संयुक्त रुपमा हस्ताक्षर गरिएको छ ।