आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहतका सबै सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए । पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी गण मातहत सुरक्षा बेस, सीमा सुरक्षा पोष्ट (बिओपी) र सीमा निगरानी पोष्ट (एफओवी) निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन् ।