ओम प्रकाश यादव
गरुडा समाचारदाता
बैशाख ३१ गते, रौतहट ।
निर्वाचनको विषयलाई लिएर रौतहटमा एक वडा अध्यक्षका उम्मेदवारमाथी संघातिक हमला भएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुरका नेकपा एकिकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवमाथी नेपाली कांग्रेसका कार्यकर्ताहरुले संघातिक आक्रमण गरेको छ ।
शनिवार साँझ सिंगारमन धर्मपुरका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रामसिहासन राय यादव सहित उनका समर्थकहरुले गरेको आक्रमणमा परेर यादव गम्भीर घाइते भएका छन् ।
कांग्रेसका कार्यकर्ताहरुले उम्मेदवार यादवलाई गाउँबाट लखेटी लखेटी लठिले निर्घात कुटपिट गरेका छन भने ढुंगाले टाउकोमा हानेर उनको टाउको फुटाइदिएको छ । टाउको फुटेर गम्भीर घाइते भएका यादवको गरुडामा उपचार भइरहेको छ ।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रामसिहासन यादव र नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादव पक्षबीच शुक्रवार विवाद भई झड्प हुँदा मतदान कार्य स्थगीत भएको थियो ।
सिंगारमन स्थित आधारभुत प्राथमिक विद्यालय मतदान केन्द्रको क र खमा करिव २० प्रतिशत मात्र मत खसेको अवस्थामा दुबै पक्षबीच मतदान गर्ने विषयलाई नै लिएर विवाद हुँदा मतदान कार्य स्थगीत गर्नु परेको थियो ।
कांग्रेसका उम्मेदवार रामसिहासन यादवले निर्वाचनमा धाँधली गर्न खोजेको भन्दै नेकपा एसका उम्मेदवार रामविनोद यादवका समर्थकहरुले अवरोध गर्न खोज्दा दुबै पक्षबीच भएको विवाद झड्पमा परिणत भएको थियो ।
दुबै पक्षबीच झड्प भएपछि आधारभुत प्राथमिक विद्यालयको दुबै मतदान केन्द्रको मतदान रद्द गरिएको छ । शुक्रवार भएको मतदान रद्द गरिएपछि निर्वाचन आयोगले सो दुबै मतदान केन्द्रमा आउँदो जेष्ठ ३ गतेका लागि अर्को निर्वाचनको मिति तोकेको छ ।
जेष्ठ ३ गते मतदान हुने भएपछि सो टोलका विभिन्न दलका उम्मेदवारहरु मत माग्न फेरी जनताको घरदैलोमा पुग्न थालेका छन ।
गाउँमा मत माग्न आएको हेरेपछि वडा अध्यक्षका उम्मेदवार रामसिहासन यादवका समर्थकहरुले एक्कासी नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवमाथी आक्रमण गर्न शुरु गरेका थिए ।