ओम प्रकाश यादव
कार्तिक २५ गते, रौतहट ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन ।
सत्तारुढ गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सांसदका उम्मेदवार समेत रहेका कांग्रेस सभापति यादवले देश र मधेश प्रदेश सहित रौतहटमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरु बहुमत सहित निर्वाचित हुने बताएका छन ।
रौतहटको गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा शुक्रवार गठबन्धनद्धारा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले सत्तारुढ गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढ्दै गएकोले गठबन्धनका उम्मेदवार विजयी हुने बताएका हुन् ।
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले गठबन्धनको जीत सुनिश्चित रहेको यादवले बताए ।
वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरे ।
नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए ।
मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने उनले धारणा राखे ।
जनताको रिझान सत्ता गठबन्धनप्रति रहेकोले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहटको चारवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनले नै विजयी प्राप्त गर्नेमा आफु पुर्ण रुपमा विश्वस्त रहेको उनले बताए ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं ४ का सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देव प्रसाद तिमल्सिना लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिएका छन ।