मुम्बई । रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’ शुक्रबार डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको छ । ‘एनिमल’को बम्पर ओपनिङसँगै निर्मातालाई ठुलो झट्का लागेको छ ।फिल्मले रिलिजको पहिलो दिन बम्पर कलेक्सन गरेको छ । तर यो खुसीको बिचमा निर्मातालाई ठुलो झट्का लागेको छ । मिडिया रिपोर्टका अनुसार फिल्म ‘एनिमल’ रिलिज भएको २४ घण्टाभन्दा कम समयमै अनलाइन लिक भएको छ ।यस्तो अवस्थामा यसको आम्दानीमा असर पर्ने सम्भावना छ । ई–टाइम्सको रिपोर्टका अनुसार ‘एनिमल’ रिलिज भएको केही घण्टामै फुल एचडी प्रिन्टमा अनलाइन लिक भएको छ ।
यो चलचित्र टोरेन्ट वेबसाइटहरूमा निःशुल्क डाउनलोड गर्न उपलब्ध छ। फिल्मलाई नियमित फर्वार्डजस्तै व्हाट्सएपमा पनि सेयर गरिएको मनोरञ्जन पोर्टलको दाबी छ । यद्यपि ’एनिमल’ मात्र होइन, विक्की कौशलको साम बहादुर पनि रिलिज भएको केही घण्टामै अनलाइन लिक भएको छ ।सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीर र रश्मिका मन्दानाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा दुवैले पहिलो पटक स्क्रिन सेयर गरेका छन् ।
फिल्ममा बबी देओल, अनिल कपूर र तृप्ति डिमरी लगायतका कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा बाबु र छोराबिचको विषाक्त सम्बन्धको वरिपरि घुमेको छ । यो चलचित्रले ओपनिङ दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।वाङ्गाको यसअघिको चलचित्र ‘कविर सिंह’ जस्तै यस चलचित्रको पनि नारीद्वेषी भन्दै आलोचना पनि भइरहेको छ । यसका बाबजुद चलचित्रले घरेलु बक्स अफिसमा ६१ करोड भारतीय रुपैयाँ (प्रारम्भिक अनुमान) कमाएको स्याकनिल्कको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै, व्यापार विज्ञरमेश बलाका अनुसार चलचित्रले विश्वभर ११० देखि ११५ करोड भारतीय रुपैयाँ कमाएको बताएका छन् । उनका अनुसार चलचित्रले उत्तर अमेरिकामा पहिलो दिनमा २५ लाख डलर कमाएको छ । दिल्ली एनसीआर क्षेत्रमा चलचित्रले १ हजार ३१८ शो पाएको थियो । यसमा दर्शकको उपस्थिति ७९ प्रतिशत रहेको थियो । त्यस्तै मुम्बईमा १ हजार ४० शोमा ५५ प्रतिशत दर्शकको उपस्थिति रहेको थियो ।
तेलुगुमा हैदरबादमा ३ सय १६ शो रहेकोमा त्यहाँ भने दर्शकको ८२ प्रतिशत उपस्थिति थियो । तमिल भर्सनमा चेन्नईमा चलचित्रको ८८ शोमा ३० प्रतिशत मात्र दर्शकको उपस्थिति रहेको थियो । यो वर्ष शाहरुखको जवानले सबैभन्दा ठुलो ओपनिङ गरेको थियो । चलचित्रले पहिलो दिन भारतभर ७५ करोड रुपैयाँ कमाएको थियो । दोस्रो स्थानमा ५७ करोड भारुसहित शाहरुखकै पठान थियो ।