रमेश कुमार यादब
पुस १४, रौतहट
रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ। जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेसँगै मधेश प्रदेशभरि यसको उत्सव मनाउने क्रम जारी छ । यसै अवसरमा रौतहट क्रिकेट सङ्घले विशेष कार्यक्रमको आयोजना गर्दै खेलाडी र व्यवस्थापन टोलीलाई गौर नगरमा बाजागाजासहित भव्य स्वागत गरेको हो ।
स्वागत समारोहको सुरुवात विभिन्न झाँकी प्रदर्शनमार्फत गरिएको थियो। स्थानीय संस्कृति झल्काउने झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गर्दै गौर राइस मिल्स परिसरमा कार्यक्रम आयोजना गरिएको थियो। खेलाडी तथा व्यवस्थापन टोलीलाई फूलमाला, अबिर र तालीको गडगडाहटबीच ट्रफी परेड गरियो।
यस क्रममा जनकपुर बोल्ट्सका कप्तान, प्रमुख प्रशिक्षक तथा व्यवस्थापकलाई विशेष सम्मान गरिएको थियो। जनकपुर बोल्ट्सको यो ट्रफी टुर मधेश प्रदेशका आठ वटै जिल्लामा सम्पन्न गरिने योजना अन्तर्गत आइतबार रौतहटमा यसरी स्वागत गरिएको हो। ट्रफी टुरको उद्देश्य भनेको स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै क्रिकेटप्रति प्रेरित गर्नु रहेको आयोजकले बताएका छन्।
रौतहट क्रिकेट सङ्घका अध्यक्षले एनपिएल उपाधि जित्नु मधेश प्रदेशका लागि मात्र नभई समग्र नेपाली क्रिकेटकै लागि गर्वको विषय भएको बताए।
उनले जनकपुर बोल्ट्सले स्थानीय खेलाडीलाई थप उर्जा र प्रेरणा दिएको उल्लेख गर्दै भविष्यमा पनि यस्तै सफलता प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय खेलप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेसँगै मधेश प्रदेशमा क्रिकेटको लोकप्रियता थप बढेको छ। खेलप्रेमीहरुले जनकपुर बोल्ट्सका खेलाडीको मेहनत, समर्पण र टोली भावना प्रशंसा गर्दै आगामी प्रतियोगितामा पनि यस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे। यस ट्रफी टुरले मधेश प्रदेशका विभिन्न जिल्लामा क्रिकेटको विकासमा सकारात्मक प्रभाव पर्ने र स्थानीय स्तरमा खेलकुद गतिविधि बढ्ने आशा गरिएको छ। जनकपुर बोल्ट्सको यो ऐतिहासिक सफलता मधेश प्रदेशकै खेल इतिहासमा एउटा महत्वपूर्ण अध्याय बनेको छ।