रमेश कुमार यादब
पुस १५, रौतहट
रौतहटको पूर्वी भेगस्थित राजदेवी नगरपालिका–५ पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ । उक्त घटनामा सात घर पूर्ण रूपमा जलेर नष्ट हुँदा लाखौं रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।गएराति करिब २ः१५ बजेको समयमा जगतनाथ पासवानको खरले बनेको घरनजिकै बालेको घुरबाट आगो सल्किएर आगलागी भएको बताइएको छ । आगलागीका कारण बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, र प्रदीप पासवानको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
८ लाख रुपैयाँभन्दा बढीको क्षति
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पीडित परिवारको घरमा रहेका सम्पूर्ण सामग्री, अन्नपात, लत्ताकपडा र नगदसमेत जलेर खरानी भएको छ ।
आगो नियन्त्रणमा ल्याउन धेरै प्रयास
आगलागीको खबर पाउने बित्तिकै बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक मदन कुमार शाहको नेतृत्वमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको नेतृत्वमा ५ जना, गौर नगरपालिकाको दमकल, र स्थानीयवासीको सहयोगमा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा ल्याइएको थियो ।
स्थानीयवासी त्रसित
आगलागीको ठूलो स्वरूप र घरभित्र रहेका सामान जलेको दृश्यले स्थानीयवासीलाई भयभित बनाएको छ । यस घटनाले विशेषगरी गरीब र ज्याला मजदूरीमा निर्भर पासवान समुदायका बासिन्दालाई ठूलो आर्थिक क्षति पु¥याएको छ । आगलागीका कारण सम्पूर्ण घर जलेर नष्ट भएपछि प्रभावित परिवारहरू ठूलो समस्यामा परेका छन् । उनीहरूको खाद्यान्न, लत्ताकपडा, नगद तथा अन्य घरायसी सामानसमेत जलेर खरानी भएको छ । अहिले प्रभावित परिवारलाई तत्कालको लागि पाल तथा राहत सामग्री उपलब्ध गराउन पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनबाट सहयोगको अपिल
पीडित परिवारले तुरुन्त राहत र पुनस्र्थापनाको माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र राहत वितरण प्रक्रिया चाँडै सुरु गरिने जिल्ला प्रशासनले जनाएको छ । यस्तो घटना फेरि नदोहरिन स्थानीय तहले अग्नि नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि स्थानीयले जोड दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।