रमेश कुमार यादब
माघ १०, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसावलले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिँदै चिसोबाट प्रभावित नागरिकहरूको लागि सिरक र कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिहीबार गरुडा नगरपालिकाको वार्ड नं. १ जयनगरमा आयोजना गरिएको विशेष कार्यक्रममा नगर प्रमुख जैसावलले अति विपन्न, गरिब र चिसोका कारण प्रभावित भएका १४० जनालाई सिरक वितरण गरेका छन ।
सिरक वितरण कार्यक्रमपछि जयनगरका स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गर्दै नगर प्रमुख जैसावलप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले भने, “यसअघि चिसोका कारण रातभर सुत्न समस्या भैरहेको थियो । सिरक पाएपछि अब चिसोबाट बच्न सजिलो हुनेछ र रातभर न्यानो गरी सुत्न सकिने छ ।“ नगर प्रमुख जैसावलले यसअघि गरुडा नगरपालिकाका विभिन्न वार्डहरूमा १५ सय भन्दा बढी चिसो प्रभावित नागरिकहरूलाई सिरक वितरण गरिसकेका छन्।
उनले भने, “नगरपालिका भित्र कुनै पनि नागरिकले चिसोका कारण दुःख पाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । विशेष गरी बालबालिका, वृद्धवृद्धा र विपन्न परिवारलाई प्राथमिकता दिइएको छ । चिसो मौसममा उनीहरूको जीवन सहज बनाउनका लागि नगरपालिकाको यो सानो प्रयास हो ।“सिरक वितरण कार्यक्रमको क्रममा जयनगरका स्थानीय नेता, वडाध्यक्ष, समाजसेवी तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नगर प्रमुखको यो कदमलाई प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वप्रति उहाँको समर्पणको सराहना गरेका थिए । नगर प्रमुख जैसावलले भने, “चिसोबाट जोगिनका लागि सिरक वितरण गर्नु मात्र पर्याप्त छैन । आगामी दिनमा नागरिकहरूको स्वास्थ्य र सुरक्षाका लागि अन्य आवश्यक सहयोगसमेत गरिनेछ । नगरपालिकाको स्रोतसाधन र दाताहरूको सहयोगबाट यो अभियानलाई थप प्रभावकारी बनाउने योजना रहेको छ ।
“ यस प्रकारका सामाजिक कार्यक्रमहरू नगरवासीहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भईरहेको स्थानीयहरूले बताएका छन्। सिरक पाएपछि जयनगरका बासिन्दाहरूले अब चिसोका कारण सुत्न गाह्रो पर्ने समस्या हल भएको महसुस गरेका छन्।