गरुडा नगर उद्योग वाणिज्य संघ रौतहटको नेतृत्वप्रति गम्भीर प्रश्नचिन्ह, अध्यक्ष साहप्रति व्यापारीहरू आक्रोशित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ६, शनिबार (१० महिना अघि)
  • ७ पटक पढिएको
गरुडा नगर उद्योग वाणिज्य संघ रौतहटको नेतृत्वप्रति गम्भीर प्रश्नचिन्ह, अध्यक्ष साहप्रति व्यापारीहरू आक्रोशित

रमेश कुमार यादब
बैशाख ०५, रौतहट

गरुडा नगरपालिका अन्तर्गतको गरुडा उद्योग वाणिज्य संघ रौतहट अहिले नेतृत्वविहीन जस्तै अवस्थामा पुगेको व्यापारीहरूको गुनासो छ । गरुडा नगर उधोग बाणिज्य संघ रौतहटका अध्यक्ष सतिश साह निर्वाचित भएको करिब दुई बर्ष पुग्न लाग्दा समेत संघमार्फत व्यवसायीहरुको हकहितका लागि ठोस र देखिने खालको काम नगरेको आरोप स्थानीय व्यापारीहरुले लगाएका छन् । अध्यक्ष साहमाथि व्यवसायीहरुले गम्भीर असन्तुष्टि जनाएका छन् ।

निर्वाचनका समयमा व्यापारी समुदायको बीचमा ठूला ठूला प्रतिवद्धता र वाचा गरेका अध्यक्ष साहले त्यसलाई व्यवहारमा उतार्न नसकेको व्यापारीहरुको भनाइ छ । नाम नखुलाउने सर्तमा एक जना स्थानीय व्यापारीले भने, “निर्वाचन अघि ठूल्ठूला भाषण दिएर व्यापारीहरूको साथ लिएका साह निर्वाचित भएसँगै मौन बसेका छन् । व्यवसायीहरूको समस्या, संघको विकास र सुशासनप्रति उहाँको कुनै चासो छैन ।” “निर्वाचन अघि उहाँले व्यापारिक भवनलाई दुई तल्ले बनाउने, संघलाई प्रदेशमा दर्ता गराउने, यहाँसम्म आउनका लागि कम्तिमा पक्की सडक बनाउने जस्ता कुराहरू गरेका थिए, तर ती सबै कुरा भाषणमै सीमित भएर गएका छन् ।“

ब्यापारीहरुको भनाइ अनुसार, अहिलेको कार्यसमिति पूर्ण रूपमा निष्क्रिय जस्तै बनेको छ । संघको भवनको हालत पनि उस्तै रहेको छ । पूर्व अध्यक्षको कार्यकालमा जेनतेन गरेर निर्माण गरिएको भवनमा अहिलेसम्म एउटा बोर्डसमेत राखिएको छैन । “संघले आयोजना गर्ने कुनै पनि महत्वपूर्ण कार्यक्रम छैन, न त स्थानीय पर्वहरु जस्तै छठ, होली, तिहार, दशैं जस्ता अवसरमा व्यापारीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम नै गरिएको छ,“ व्यापारीले गुनासो गर्दै भने ।

यति सामान्य काम गर्न नसक्ने नेतृत्वबाट हामीले के अपेक्षा गर्ने ?” समाजका अन्य व्यापारीहरुले पनि यस्ता गतिविधिको अभावले गर्दा उधोग बाणिज्य संघप्रति व्यापारी वर्गको विश्वास कम हुँदै गएको बताएका छन् । “संघ भन्ने संस्था व्यापारिक हितको लागि काम गर्ने थलो हो भन्ने बुझाइ नै हराउँदै गएको छ,“ अर्का व्यापारीको भनाइ छ । त्यस्तै, अहिलेका अध्यक्षले न त संघको नियमित बैठक बोलाउने गरेका छन्, न त व्यापारीहरुको समस्याबारे छलफल गर्ने कुनै मञ्च तयार गरेका छन् । संघको नाम मात्र चलिरहेको छ, काम शून्य अवस्थामा पुगेको आरोप उनीहरुकै हो ।

व्यापारीहरुले निकट भविष्यमा संघमा आम सभा वा विशेष बैठक बोलाएर वर्तमान कार्यसमितिको प्रगति विवरण माग गर्ने र आवश्यक परेमा विरोध कार्यक्रम पनि गर्ने चेतावनी दिएका छन् । ”व्यापारीहरूका अनुसार अध्यक्ष साह आफ्नो व्यक्तिगत काममा मात्र केन्द्रित छन् । संघमा आवद्ध सदस्यहरूको अवस्था, आवश्यकतालाई बेवास्ता गर्दै संघको गरिमा घटाउने कार्य भइरहेकाले अब संघभित्र नयाँ नेतृत्वको खाँचो रहेको आवाज उठ्न थालेको छ ।

गरुडा उद्योग वाणिज्य संघ रौतहट जस्तो महत्वपूर्ण संस्था नेतृत्वविहीनतामा जाँदा व्यापारिक क्षेत्र मात्र नभई समग्र नगरको विकास पनि प्रभावित हुने व्यापारीहरूको भनाइ छ । संघका अध्यक्ष सतिश साहले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । हालका गतिविधिहरु र आरोपहरुको बारेमा प्रतिक्रिया लिने प्रयास गर्दा पनि उहाँ सम्पर्कमा आउन सक्नुभएन । अब व्यापारीहरुको चासो यो छ ( के उधोग बाणिज्य संघ फेरि व्यवसायीहरुको हकहितको सशक्त मञ्च बन्न सक्छ कि नेतृत्व फेरबदलको बाटोतर्फ उन्मुख हुनेछ ?

ताजा अपडेट

खोजी गर्नुहोस