रौतहट,१२ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने बताएका छन्।
कुनै पनि विकास निर्माण लगाएत कामबारे अख्तियारमा उजुरी पर्दैमा कोही दोषी नहुने भएकोले अख्तियारमा उजुरी पर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताएका हुन् ।अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धानका लागि उजुरी संग सम्बन्धित व्यक्तिलाई बोलाएर ब्यान लिने गरेको र सबैको ब्यान सकेपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको उनले बताए।
रौतहटको गरुडा स्थित कलवार धर्मशालामा आज आयोजित एकदिने सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख आचार्यले आफूहरुका लागि उजुरी सूचनाको रूपमा मात्र रहनेगरेकोले यसलाई मुद्दाको रूपमा नलिन आग्रह गरेका छन्।
उनले भने, ‘धेरैले उजुरी दिएर भन्छ म अख्तियारमा मुद्दा दिएको छु, तर म प्रष्ट गर्न चाहन्छु उजुरी कहिलै मुद्दा हुँदैन, त्यो केवल सूचना मात्र हुन्छ, उजुरी दिएकै आधारमा कोही दोषी वा निर्दोष सावित हुँदैन । कुनै पनि विषयमा अख्तियारमा उजुरी परेपछि त्यसको वास्तविक छानविन हुन्छ र छानविन पछि मात्र दोषी हो वा निर्दोष हो भन्ने कुराको टुंगो लाग्छ,।’
अख्तियारले अनुसन्धानको क्रममा उजुरी संग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्नेगरेको बताउँदै उनले अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउने तिर ध्यान दिनुपर्ने बताए ।
जति छिटो कागजात पठाए त्यति छिटो नै उजुरीको किनारा लाग्ने अर्थात फर्छ्यौट हुने भएकोले अख्तियारलाई मागेकै बेला आवस्यक कागजात उपलब्ध गराई अनुसन्धान कार्यमा सघाउन उनले उपस्थित जनप्रतिनिधि तथा सरोकारवाला सबैलाई आग्रह गरे ।
अख्तियारले नियतबस जानी जानी दुःख दियो भनी धेरैले भन्ने गरेको भन्दै उनले अख्तियारले नियतबस बिना गल्तीको कसैलाई दुःख दिने काम नगरेको समेत उनले प्रष्ट्याए ।
अनुसन्धान पछि अख्तियारले एकलैले चाहेमा मुद्दा नचल्ने बताउँदै उनले कुनै विषयमा मुद्दा दायर गर्नुभन्दा अघि सरकारी वकिल लगाएत अन्य सरोकारवालाहरु संग राय सल्लाह लिने गरिएको र मुद्दा चलाउन उनीहरु सहमत भएपछि मात्र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको उनले सुनाए ।
जनप्रतिनिधी र कर्मचारीहरु आ-आफ्नो कार्य प्रति पूर्ण वफादार, उत्तरदायी एवं जिम्मेवार भई इमान्दारीका साथ पारदर्शी ढंगले काम गर्यो भने भ्रष्टाचार आफैं समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताए।
पछिलो समय भष्टाचार भन्दा पनि व्यक्तिगत एवं राजनीतिक प्रतिशोध साध्ने नियतले अख्तियारमा उजुरी दिनेहरुको संख्या बढेको आफूहरुले पाएको समेत उनले बताए ।
गरुडा नगरपालिका कार्यालयकाे सहकार्य, जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन र तराई विकास तथा सञ्चार नेपाल काठमाण्डौको आयोजनामा सम्पन्न भएको सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐतिहासिक पृष्ठभूमी, संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्था, संस्थागत रणनीति, भ्रष्टाचारजन्य कसुरहरुको बारेमा जानकारी, आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु, नेपालमा भ्रष्टाचारको वर्तमान अवस्था, अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तुहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले रौतहट जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्चालन हुँदै आइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनताको इच्छा, आकांक्षा र चाहना पूरा नभएको अवस्थामा अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खड्काले जनताको चाहना र इच्छा आकांक्षा अनुसारको काम गरी अख्तियारको कार्यवाहीबाट जोगिनेतर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।
कहिलेकाही प्रतिशोधको कारणले पनि उजुरी दिँदा विकास निर्माणका कार्यहरुमा बाधा पुग्ने गरेकोले आयोगले गर्ने यस्ता कार्यक्रमले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने महसुश गर्दै कार्यक्रमको सरहना गरेका थिए
साथै उनले आयोगले भ्रष्टाचार नियन्त्रणमा माथिदेखि तलसम्म निगरानी बढाउनुपर्ने समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षकको कार्यालय काठमाडौंका सचिव पदमराज पौडेल र विशिष्ट अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले अन्त्यमा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा प्रवर्द्धनात्मका, निरोधात्मक तथा दण्डात्मक कार्यहरु गर्दै आइरहेको बताउँदै भ्रष्टाचारलाई समाजको रोगको संज्ञा दिएका थिए।
दुवैजनाले स्थानीय तहले सार्वजनिक खरिदका कार्यहरु गर्दा आफै कानून बनाएर होइन की संघीय सार्वजनिक खरिद ऐन अन्तरगत रहेर कार्य गर्न निर्देशन दिँदै सुशासन प्रवर्द्धनको लागि सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीता र सदाचारको जस्ता तत्वहरुको आवश्यकता रहेको बताए ।
कार्यक्रम आयोजना गर्ने तराई विकास तथा सञ्चार केन्द्र काठमाण्डौका अध्यक्ष गोविन्द चौलागाईले सुशासन प्रवर्द्धनमा रौतहट जिल्ला स्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवार, गौर नगरपालिका नगर प्रमुख शम्भु साह, बौधिमाई नगरपालिका नगर प्रमुख प्रदीप यादव, राजदेव लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थिए।