वर्तमानकाल सम्वाददाता
बैशाख १५ गते ।
मधेश प्रदेशका आठ जिल्लाका एक सय ३६ पालिकामा मधेश प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड रुपैयाँ भ्रष्टाचार गरिएको खुलेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले एक सय ३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द) स्थापनाको लागि स्वास्थ्य उपकरण खरिद गर्दा ५२ करोड ९ लाख ८७ हजार ४ सय ६० रुपैयाँ भ्रष्टाचार भएको निकर्षसहित आइतबार विशेष अदालतमा चारवटा मुद्दा दायर भएको छ ।
जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिद गर्दा भ्रष्टाचार भएको ५२ करोड ९ लाख ८७ हजार ४६० रुपैयाँ अनियमितता भएको निष्कर्षसहित अख्तियारले त्यती नै रकम बिगो माग दावी गर्दै चारवटा मुद्दा दायर गरेको हो । मुद्दामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्रसहितमाथि १४ जनालाई प्रतिवादी बनाइएको छ ।
२१ करोड ८९ लाख ३९ हजार ७६० बिगोदावी कायम गरिएको मुद्दामा मन्त्रालयका तत्कालीन सचिव श्रेष्ठ, निर्देशक मिश्रसहित १५ जनालाई प्रतिवादी बनाइएको छ । मन्त्रालयका तत्कालीन लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ ल्याव टेक्निसियन गुणानन्दप्रसाद साह, ल्याब टेक्नोलोजिष्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिष्ट रामउदगार यादव, माइक्रोबायोलोजिष्ट (अधिकृत नवौं) जीतेन्द्रकुमार साह र अमरेन्द्रकुमार मिश्र अभियुक्त छन् ।
यस्तै, उप–प्रमुख मेडिकल ल्याब टेक्नोलोजीस्ट (अधिकृत नवौं) दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट (चौथौ तह) रमेशकुमार मण्डल, लेखा अधिकृत अमरदीप महतो, ल्याव असिस्टेन्ट कर्मशीलप्रसाद गोप र वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । यस्तै, काठमाडौंको तीनकुनेस्थित हस्पिटेक इन्टरप्राइजेज प्रालि तथा कम्पनीका सञ्चालक विशाल पण्डितलाई पनि प्रतिवादी बनाइएको छ ।
१९ करोड ४९ लाख १३ हजार १२० रुपैयाँ बिगोदावी गरिएको मुद्दामा १४ जनालाई प्रतिवादी बनाइएको छ ।यो मुद्दामा पनि मन्त्रालयका सचिव श्रेष्ठ, लेखा अधिकृत दास र वरिष्ठ स्वास्थ्य प्रशासक साह, प्रयोगशाला निर्देशक मिश्र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साह, मेडिकल ल्याब टेक्नोलोजिष्ट मनमोहन मिश्र र ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादव, माइक्रोबायोलोजिष्ट (अधिकृत नवौं) जीतेन्द्रकुमार साह, माइक्रोबायोलोजिष्ट (अधिकृत नवौं) अमरेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट (चौथौ तह) रमेशकुमार मण्डल, लेखा अधिकृत (अधिकृत छैटौं) अमरदीप महतो, ल्याव असिस्टेन्ट कर्मशीलप्रसाद गोप र
वरिष्ठ ल्याब अधिकृत उमेश चौधरी प्रतिवादी छन् ।
हस्पिटेक इन्टरप्राइजेज र सञ्चालक विशाल पण्डितलाई पनि प्रतिवादी बनाइएको छ । यस्तै, विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द) स्थापनाको लागि भएको खरिद सम्झौता गर्दा ५ करोड एक लाख ९० हजार ८० रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ । अख्तियारले यस मुद्दामा पनि जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक मिश्र, वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साह, वरिष्ठ ल्याब अधिकृत उमेश चौधरी, अधिकृत छैटौं (लेखा अधिकृत) अमरदीप महतोविरुद्ध त्यति नै रकम बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
अख्तियारले ल्याब असिस्टेन्ट कर्मशीलप्रसाद गोप, मेडिकल ल्याब टेक्नोलोजिष्ट मनमोहन मिश्र र ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादव तथा काठमाडौंको सिनामंगलमा रहेको सेभेन हिल्स प्रालि र त्यसका सञ्चालक अनिल शाहलाई पनि ५ करोड एक लाख ९० हजार ८० रुपैयाँ बिगो दावीसहित प्रतिवादी बनाएको छ । अख्तियारले अर्को एक मुद्दामा ६ करोड ५ लाख ११ हजार ५०० रुपैयाँ मागदावी गरेको छ ।


