बारा,१७ वैशाख। दुबई रोजगारको सपना देखाएर लाखौँ रकम ठगी गर्ने बाराका एक व्यक्ति इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा परेका छन् । परवानीपुर गाउँपालिका–३ निवासी ४५ वर्षीय श्रवण साह रौनियारलाई पीडित आफैँले समाती प्रहरीले बुझाएको हो ।
साहले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनालाई प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रूपमा दुबई पठाउने आश्वासन दिँदै जनही दुई लाख रुपैयाँको दरले रकम उठाएका थिए । पीडितहरूबाट उनले झन्डै १० लाख ९० हजार रुपैयाँ सङ्कलन गरेका थिए । रकम बुझाएपछि विदेश पठाउने प्रक्रिया अघि नबढाई उनले सम्पर्कविहीन भएका थिए ।
पीडितहरूलाई झुक्क्याउन उनले नक्कली भिसाका कागजात समेत दिएका थिए । पीडितहरूमध्ये अशोक पासवानले १ लाख १० हजार रुपैयाँ नपुग्दा आफ्नै मोटरसाइकल साहको नाममा पास गर्न बाध्य भएका थिए ।
थप ढिलाइ भएमा रकम फिर्ता नहुने डरले पीडितहरूले श्रवणलाई जीतपुरस्थित गढीमाई मन्दिर नजिकै समातेर प्रहरीमा बुझाएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसबिच, ठगीको आरोप लागेका श्रवण साहविरुद्ध उनका वडाका थप तीन जनाले पनि उजुरी दिएका छन् । परवानीपुर गाउँपालिका–२ का हाकिम हवारी, सुरेन्द्र साह र रामबाबु रामले उनलाई पाँच लाख ९० हजार रुपैयाँ विदेश पठाउने भन्दै दिएको दाबी गरेका छन् ।
हरीका अनुसार श्रवण साह ठगीपछि पटक–पटक स्थान परिवर्तन गरी लुकीछिपी बस्दै आएका थिए । पीडितहरूको उजुरी र घटनाको प्रकृति हेर्दा ठगी योजनाबद्ध र सङ्गठित हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।