बारा,२० वैशाख। सिम्रौनगढ नगरपालिकामा नगरप्रमुखद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको घटनाले बारामा तहल्का मच्चाइरहेको छ। कानुन विपरीत भुक्तानी गर्न अस्वीकार गरेपछि नगरप्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको आरोप लागेको हो।
घटना वैशाख १६ गते आदर्शकोतवाल गाउँपालिका–कोतवाली चोकस्थित जानकी आयल नजिकै रहेको नगरप्रमुखको निजी निवासमा भएको बताइएको छ। जयसवालले कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि कलवार र उनका समर्थकले हातपात गरेको पीडित पक्षको दाबी छ।
कुटपिटको विषय सार्वजनिक भएपछि प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दर्ता गराएका छन्। सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्।
कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह ठप्प पारेका छन्। यसले गर्दा दैनिक काम लिएर आएका सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन्।
नगरप्रमुख कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनरत कर्मचारीहरूले दोषी नतोकिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। घटनाले स्थानीय शासनमा राजनीतिक हस्तक्षेप र कानुनी प्रक्रियाको अपमानबारे बहस उठाएको छ।