रमेश कुमार यादब
बैशाख ३१, रौतहट
बिगत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित रहँदै उपचाररत वरिष्ठ पत्रकार फणिदेव महतको मंगलबार दुःखद निधन भएको छ । उनी ४८ वर्षका थिए । महतको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले एक निडर, कर्मठ र अनुभवी पत्रकार गुमाएको छ ।
पत्रकार महतको स्वास्थ्य स्थिति विगत केही वर्षदेखि जटिल बन्दै गएको थियो । प्रारम्भमा नेपालमै उपचार गरिएको भए पनि स्थितिमा सुधार नआएपछि भारतको विभिन्न अस्पतालमा समेत उपचार गराइएको थियो ।
तर, आर्थिक अभावका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भएको थियो । उनको सहयोगार्थ पत्रकार महासंघ, प्रेस चौतारी , सामाजिक संघ–संस्था, राजनीतिक दलका अगुवा तथा सर्वसाधारण लगायत संघसंस्थाले अपिलसमेत गरेका थिए । यद्यपि, ब्रेन टयुमर रोगसँग लड्दै आएका महतले अन्ततः हार मानेका छन्।
महतले करिब तीन दशकसम्म नेपाली पत्रकारिता क्षेत्रमा सकृय भूमिका निर्वाह गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाताका रूपमा लामो समय योगदान दिए । साथै, चन्द्रनिगापुरबाट सञ्चालन हुने रेडियो सुप्रिमका संस्थापक निर्देशक तथा अनलाइन पोर्टल ’कलमपाटी डटकम’का प्रमुख सम्पादक समेत रहेका थिए । उनले मधेश प्रदेशमा प्रेस चौतारी नेपालको अध्यक्ष पद समेत सम्हालेका थिए ।
स्थानीय मुद्दा, भ्रष्टाचार विरुद्धको लेखन तथा जनताको आवाज बुलन्द गरिरहने पत्रकार महतलाई निर्भीक पत्रकारका रूपमा चिनिन्थ्यो । जनताको पक्षमा कलम चलाउने उनको साहसी भूमिका सधैँ स्मरणीय रहनेछ । उनको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलि कार्यक्रम सहित अन्त्येष्टि गरिने छ । अन्तिम श्रद्धाञ्जलिमा पत्रकार, राजनेता, सामाजिक अगुवा, नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिको लागी परिवारले हार्दिक अनुरोध समेत गर्नु भएको हो ।
उनका परिवारमा श्रीमती र दुई छोरा छन् । पत्रकार महतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण पत्रकारिता क्षेत्रले उनको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरेको छ । “पत्रकार महतको निधनले मधेश र समग्र नेपाल पत्रकारिता क्षेत्र शोकमा डुबेको छ । उहाँको योगदान अविस्मरणीय छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”