काठमाडौं, ०७ माघ। प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) दलहरूले देशभर उमंगका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्तामा दल र दलका नेता–कार्यकर्ताहरूसँगै स्वतन्त्र उम्मेदवार र उनीहरूका समर्थकमा देखिएको उल्लासले निर्वाचनबारे देखिएको संशय पनि मेटिएर गएको छ ।
उम्मेदवारी प्रक्रिया सम्पन्न भएसँगै मुलुकको राजनीतिक वातावरणमा चुनावी माहोल तातेको छ । दलहरूले उम्मेदवारहरूमार्फत् मतदाता आकर्षित गर्ने अभियान तीव्र बनाउने क्रम पनि सुरू भएको छ ।
निर्वाचन आयोगका अनुसार देशभर सबै निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता प्रक्रिया चलेको थियो ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो ।
दलहरूमा चुनावी सरगर्मी बढे पनि उनीहरूले विगतमा जस्तै पार्टीमा आवद्ध महिला आकांक्षीहरूका प्रति भरोसा भने जाग्न सकेको देखिँदैन ।दलहरूले यसपालि पनि विगतमा जस्तै सीमित स्थानमा मात्रै महिला उम्मेदवारहरू अघि सारेका छन् ।
विघटित प्रतिनिधिसभाका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महिला आकांक्षीहरू प्रति उदार देखिन सकेनन् ।
उम्मेदवारी दर्ताबारे दलहरूले सार्वजनिक गरेका प्रारम्भीक सूचनाअनुसार कांग्रेस, एमाले र नेकपाले झण्डै समान संख्यामा महिला उम्मेदवारहरूलाई चुनावी प्रतिष्पर्धामा उतारेका छन् ।
लामो राजनीतिक विरासत बोकेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये मात्र ११ जना महिलाहरूलाई संसदीय याताका लागि उम्मेदवार बनाएको छ ।
एमालेले देशभर १२ जना महिलालाई चुनावी प्रतिष्पर्धाका लागि अवसर दिँदा नेकपाले ११ जना महिलालाई मात्रै दलका तर्फबाट उम्मेदवार बनाएको छ ।
अनलाइनखबरलाई प्राप्त सूचीअनुसार कांग्रेसले कोशी प्रदेशबाट झापा–२ मा सरिता प्रसाईं र झापा–५ मा मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।
मधेश प्रदेशबाट कांग्रेसकातर्फबाट महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादवले टिकट पाएका छन् ।
कांग्रेसले बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच महिला नेतृलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा काठमाडौं– ८ र ९ बाट क्रमशः सपना राजभण्डारी र नानु बास्तोला उम्मेदवार बनेका छन् ।
यस्तै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङले टिकट पाएका छन् । उपाध्याय निवर्तमान सहमहामन्त्री हुन भने थिङ विघटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक थिइन् ।
कांग्रेसले चितवन–२ बाट मीनाकुमारी खरेल, रूकुम पूर्व (लुम्बिनी प्रदेश) बाट कुसुमदेवी थापामगर र दैलेख–१ (कर्णाली)बाट बासना थापालाई टिकट दिएको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा विजयी एकमात्र महिला नेतृ सीता गुरूङलाई भने कांग्रेस यसपल्ट टिकटबाट वञ्चित गरेको छ । उनी निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
कांग्रेसमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट कुनै पनि महिला नेतृलाई उम्मेदवार बनाएको छैन । यस्तै एमालेले सुनसरी–३ मा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा र उदयपुर–१ मा दुर्गा थापा स्वोतीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
एमालेबाट धनुषा–३ का लागि जुलीकुमारी महतो, बारा–३ का लागि ज्वालाकुमारी साह, पर्सा–२ का लागि रिमाकुमारी यादव र तनहुँ–१ का लागि भगवती न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाटै बाग्लुङ–२ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, रुपन्देही–४ मा सुनिता थथेर र बर्दिया–२ मा विमला विकको उम्मेदवारी परेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेकपामा पनि संसदीय निर्वाचनका लागि पुरूष उम्मेदवारहरूसँग प्रतिष्पर्धा गर्ने अवसरमात्र ११ जना नेतृले पाएका छन् ।
नेकपालो झापा–२ बाट धर्मशीला चापागाईं, संखुवासभाबाट सरिता खड्का थापा, सुनसरी–२ बाट रामकुमारी चौधरी र सप्तरी–४ बाट रुबी कर्णलाई मनोनयन दर्ता गर्न लगाएको छ ।
तथापि, सप्तरी–४ मै नेकपाका तर्फबाट तारा तिमिल्सिना (पुरूष उम्मेदवार)को पनि उम्मेदवारी दर्ता भएको बताइएको छ ।
यस्तै रौतहट–३ मा पुनम देवी, काठमाडौं–१ मा मेनका भण्डारी, काठमाडौं–५ मा कल्पना शर्मा र चितवन–३ मा रेणु दाहाल पनि नेकपाबाट उम्मेदवार बन्ने भाग्यशाली नेतृमा पर्छन् ।
नेकपाले मनाङमा यशोदा सुवेदी गुरूङ, नवलपरासी (पश्चिम)– १ मा डा. सिन्धु जलेशा र कञ्चनपुर–३ मा बिना मगरलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ ।
विघटित संसद्मा प्रत्यक्षतर्फ विजयी नौमध्ये कम्तिमा पाँच महिला नेतृ आगामी संसद्मा नदेखिने विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् ।
उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।
गत निर्वाचनमा विभिन्न दलहरूबाट प्रत्यक्षतर्फ विजयी भएका नौ जनामा तीन जनाले यसपल्ट चुनाव लड्न अनिच्छा देखाएका थिए ।
दुई जना नेतृ भने फेरि निर्वाचन लड्ने चाहना राख्दा–राख्दै पनि टिकट पाउन असफल भएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचन– २०७९ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सीता गुरूङमात्रै विजयी भएकी थिइन् । यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा एक्लै निर्वाचित भएकी थिइन् ।
उनीहरू दुईमध्ये शर्माले परिवर्तित राजनीतिक परिवेशमा आफूले निर्वाचन लड्न नचाहेको बताएकी थिइन् । कांग्रेस नेतृ गुरूङ भने उम्मेदवारको आकांक्षी थिइन् । तर, उनलाई जिल्ला कार्यसमिति, तेह्रथुमले प्रदेश कार्यसमिति समक्ष सिफारिस नै गरेको थिएन ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट गुरूङलाई जिल्लाका केही नेता–कार्यकर्ताविरूद्ध अनुशासनको कारबाही गराएको आरोप लगाएको थियो ।
जिल्लाबाट उनी सिफारिसमा नपरेपछि कोशी प्रदेश कार्यसमितिले गुरूङको नाम थपेर केन्द्रमा पठाएका थियो । जिल्ला कार्यसमितिले तत्कालीन महामन्त्री गगनकुमार थापाको नाम मात्रै तेह्रथुमबाट सिफारिस गरेको थियो ।
कांग्रेसले प्रत्यक्षतर्फको टिकट वितरण गर्ने क्रममा पार्टीको केन्द्रीय नेतृत्व एकाएक परिवर्तन भएपछि नेतृ गुरूङ गुटको शिकार हुनु परेको देउवा पक्षीय नेताहरूको आरोप छ ।
गत निर्वाचनमा एमालेबाट भगवती चौधरी, ज्वाला साह, जुलीकुमारी महतो र विद्या भट्टराई प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
उनीहरूमध्ये टिकटका लागि आकांक्षा नराख्नेमा भट्टराई मात्रै थिइन् । एमालेबाट चौधरी र महतोले टिकट पाउँदा साह भने उम्मेदवार बन्नबाट राकिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गत निर्वाचनमा प्रत्यक्षतर्फ सोविता गौतम र तोसिमा कार्की निर्वाचित भएका थिएन । उनीहरू दुवैलाई रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवारमा दोहोर्याएको छ ।
यस्तै गत निर्वाचनमा पश्चिम नेपालबाट उदाएको दल नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ प्रत्यक्षमा निर्वाचित भएकी थिइन् । यसपल्ट उनी पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार बनेकी छैनन् ।
गत निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जनामात्र निर्वाचित भएका थिए ।


