बारा, ०७ माघ। खल्ती एप्सका निर्देशक तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ईन्जिनियर अरबिन्द साहले रातारात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर–३ मा उम्मेदवारी दर्ता गराएपछि स्थानीय राजनीतिक वृत्तमा व्यापक चर्चा र विवाद सुरु भएको छ।
आईतबारसम्म ईन्जिनियर साहले उज्यालो नेपाल पार्टीबाट बारा क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्दै आएका थिए। तर उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनमा अचानक उनले पार्टी परिवर्तन गर्दै रास्वपाबाट बारा–३ मा उम्मेदवारी दर्ता गराएपछि पार्टीभित्र र बाहिर अनेक प्रश्न उठ्न थालेका छन्।
स्थानीय स्रोतहरूका अनुसार रास्वपाबाट बारा–३ का लागि चार्टर्ड एकाउन्टेन्ट गोविन्द गुप्ता अन्तिम सिफारिसमा परेका उम्मेदवार थिए। गुप्ताले पार्टी संगठन, कार्यकर्ता तथा समर्थकहरूबाट अग्रिम बधाईसमेत पाइसकेको अवस्थामा अन्तिम समयमा टिकट अर्कैलाई दिइएको घटनाले आश्चर्य पैदा गरेको छ।
गोविन्द गुप्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै टिकट पाउनका लागि ३ करोड रुपैयाँ माग गरिएको र सो रकम दिन नसकेपछि आफूलाई हटाइएको आरोप लगाएका छन्। उनका अनुसार, आफूले पैसा नदिएकै कारण टिकट रातारात ईन्जिनियर अरबिन्द साहलाई दिइएको हो।
“पार्टीका क्याडरहरूले मलाई अग्रिम बधाई दिइसकेका थिए। तर अन्तिम समयमा पैसाको कुरा आयो, जुन म दिन सक्दिनँ। त्यसपछि टिकट अर्कैलाई दिइयो,” गुप्ताको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका साहले अन्तिम घडीमा रास्वपाको टिकट लिनु र त्यससँगै पैसाको लेनदेनबारे आरोप आउनुले निर्वाचनको स्वच्छता र पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न खडा गरेको छ।
यसैबीच, गुप्ताले बारा–३ मा बाहिरबाट आएका “टुरिस्ट उम्मेदवार” को जमानत जफत हुने दाबीसमेत गरेका छन्। उनले स्थानीय जनताको भावना नबुझ्ने र अचानक देखिने उम्मेदवारलाई मतदाताले स्वीकार नगर्ने बताएका छन्।
उक्त आरोपहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी वा ईन्जिनियर अरबिन्द साहको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर घटनाक्रमले बारा–३ को निर्वाचन थप रोचक र विवादास्पद बन्दै गएको देखिन्छ।
निर्वाचन नजिकिँदै जाँदा यी आरोप–प्रत्यारोपको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकाय र पार्टी नेतृत्वको स्पष्ट जवाफ आवश्यक देखिएको छ।


