रमेश कुमार यादब
माघ ११ गते ।
मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लामा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै स्थानीय तह निर्वाचनको चुनावी चहलपहल तीव्र रूपमा बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागिरौतहटको चारवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चारै क्षेत्रमा पुरुष १३० जना र महिला १३ जना उम्मेदवार रहेका छन्। यसपटकको निर्वाचनमा १०८ जना नयाँ उम्मेदवार पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन्, जसले चुनावलाई थप रोचक बनाएको छ। यस्तै, ७० जना स्वतन्त्र उम्मेदवार दर्ता हुनु पनि रौतहटको चुनावी विशेषता बनेको छ।
उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), आम जनता पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, उज्यालो नेपाल लगायतका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरू रहेका छन्। निर्वाचन कार्यालयका अनुसार दर्ता भएका उम्मेदवारहरूमध्ये धेरैजसो डमी उम्मेदवार रहेको चर्चा व्यापक छ। प्रमुख राजनीतिक दलहरूले चुनावी प्रचारका क्रममा गाडी प्रयोगको सुविधा लिन आफ्ना कार्यकर्ताबाट औपचारिक रूपमा मनोनयन दर्ता गराएको बताइन्छ। चुनावी प्रचारप्रसारको शैली यसपटक फरक देखिएको छ।
परम्परागत रूपमा देखिने पोस्टर, ब्यानर, पर्खाल लेखन र गाडीमार्फत हुने प्रचार हालसम्म खासै देखिएको छैन। बरु उम्मेदवारहरू सामाजिक सञ्जाल, विशेषगरी फेसबुक र टिकटकलाई मुख्य प्रचार माध्यम बनाउँदै सक्रिय देखिएका छन्। दैनिक रूपमा एक दर्जनभन्दा बढी प्रचार सामग्री उम्मेदवार र उनका समर्थकहरूले सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्।
धार्मिक आस्थासँग जोडिँदै अधिकांश उम्मेदवारहरूले आ–आफ्नो नजिकका मठ–मन्दिरमा पूजापाठ गरेर चुनावी अभियानको सुरुवात गरेका छन्। मठमन्दिरमा पूजापाठसँगै स्थानीय मतदातासँग भेटघाट र संवादलाई पनि तीव्रता दिइएको छ।ग्रामीण भेगमा भने नेता–कार्यकर्ताहरू चिया पसल, टोलटोल र घरघरमा पुगेर मतदाता रिझाउने प्रयासमा जुटिसकेका छन्। प्रत्यक्ष संवाद, व्यक्तिगत सम्बन्ध र स्थानीय मुद्दामाथि केन्द्रित छलफल अहिलेको प्रमुख चुनावी रणनीति बनेको देखिन्छ ।
यसपटक युवा र नयाँ अनुहारहरू ठूलो संख्यामा चुनावी मैदानमा उत्रिएपछि पुराना र अनुभवी उम्मेदवारहरूलाई कडा चुनौती मिलेको छ। नयाँ उम्मेदवारहरूको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र जनतामा देखिएको परिवर्तनको चाहनाले पुराना उम्मेदवारहरू दबाबमा परेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।समग्रमा, रौतहटमा यसपटकको निर्वाचन नयाँ बनाम पुराना उम्मेदवार, सामाजिक सञ्जाल बनाम परम्परागत प्रचार, र स्थानीय मुद्दामाथिको प्रतिस्पर्धाका रूपमा विकसित हुँदै गएको देखिन्छ। आगामी दिनमा चुनावी माहोल अझ तातिने संकेत देखिएको छ।


