माघ ११ गते । रौतहट ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गरुडा शाखाले आफ्नो ६१ औँ वार्षिकोत्सव शनिबार भव्य रूपमा मनाएको छ । शाखा प्रबन्धक मणिराज विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा हरेन्द्र प्रसाद जैसवाल तथा विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री अनिल कुमार झाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरेन्द्र प्रसाद जैसवालले राष्ट्रिय वाणिज्य बैंकले विगतदेखि नै ग्राहक तथा व्यापारीहरूलाई सन्तोषजनक सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले बैंकको सेवा प्रभावकारी, भरोसायोग्य र पारदर्शी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सरल, सुलभ र छरितो सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । “ग्राहकको विश्वास नै बैंकको सबैभन्दा ठूलो पूँजी हो,” जैसवालले भन्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि पूर्वमन्त्री अनिल कुमार झाले पछिल्लो समय बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढिरहेको सन्दर्भ उल्लेख गर्दै धेरै बैंकहरूमा विभिन्न किसिमका समस्या देखिने गरेको धारणा राख्नुभयो । उहाँले केही बैंकमा सेवाग्राहीको रकम दुरुपयोग भएको, सेवा झन्झटिलो र ग्राहकलाई समस्या दिने गरेको गुनासो सुनिने गरेको बताउँदै राष्ट्रिय वाणिज्य बैंक भने त्यस्ता समस्याबाट मुक्त रहेको र सेवाग्राहीलाई सर्बसुलभ सेवा दिइरहेको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा शाखा प्रबन्धक मणिराज विश्वकर्माले बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच राष्ट्रिय वाणिज्य बैंक डिजिटल माध्यमबाट गुणस्तरीय सेवा प्रवाहमा अग्रसर रहेको जानकारी दिनुभयो । उहाँले डिजिटल युगसँगै बैंकले विभिन्न नयाँ सेवा सुरु गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो । “ग्राहकलाई कसरी अझ सहज र प्रभावकारी सेवा दिन सकिन्छ भन्नेमा बैंक गम्भीर छ,” विश्वकर्माले भन्नुभयो ।
उहाँले कम ब्याजदरमा कर्जा उपलब्ध गराउने र निक्षेपकर्तालाई आकर्षक ब्याजदर प्रदान गर्ने नीतिका कारण बैंक ग्राहक पहुँचको हिसाबले अग्रस्थानमा रहेको दाबी पनि गर्नुभयो ।
६१ औँ वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरुडा नगरपालिका–४ स्थित वंशिराम जैसवाल अनाथालयमा खाद्यान्न सामग्री वितरण गरेको छ । अनाथालयमा खाद्यान्न सहयोग गर्दै शाखा प्रबन्धक विश्वकर्माले ६१ औँ वार्षिकोत्सवको अवसरमा टुहुरा बालबालिकालाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । “यदि यस्ता टुहुरा नानीबाबुको हामीले सहयोग नगरे कसले गर्छ ? त्यसैले बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा यस्ता सामाजिक कार्य गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तरता दिनेछ,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका ऋण प्रमुख रविन्द्र पटेल ,सहायक शाखा प्रबन्धक पुनम साह,अमित मन्डल, कुमुद चौधरी , बिटु गुप्ता, श्रीराम सह राजाराम साह लगायत गरुडा शाखाका सम्पूर्ण कर्मचारी, विभिन्न क्षेत्रका दर्जनौँ सेवाग्राही तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । ६१ औँ वार्षिकोत्सवले बैंकको सेवा, डिजिटल रूपान्तरण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको सहभागीहरूको धारणा थियो ।


