रौशन कुमार चौधरी
माघ १२ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुरमा श्री हनुमान भगवान, भगवान शिवको शिवलिङ्ग तथा माता पार्वतीको प्राणप्रतिष्ठाका लागि आयोजना गरिएको धार्मिक महायज्ञ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। महायज्ञको शुभारम्भको अवसरमा १००८ जना कन्याहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको थियो, जसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय वातावरणमा रूपान्तरण गरेको छ।

सोमबार बिहान कटहरिया स्थित लालबकैयाँ नदी ९गंगासागर० बाट पवित्र जल बोकी कन्या कुमारीहरूले कलश यात्रा प्रारम्भ गरेका थिए। वैदिक मन्त्रोच्चारण, शंख–घण्टाको धुन र “हर हर महादेव” तथा “जय हनुमान” को जयघोषका बीच कन्याहरूले जल बोकेर फत्तेपुरस्थित मठमा कलश स्थापना गरेका छन्। भगवान शिवको शिवलिङ्ग स्थापना गर्ने उद्देश्यले नदीबाट पवित्र जल ल्याउने परम्पराअनुसार उक्त कलश यात्रा निकालिएको आयोजक समितिले जनाएको छ।

आयोजकका अनुसार हनुमान भगवान, शिवलिङ्ग र माता पार्वतीको प्राणप्रतिष्ठा आगामी बिहीबार विशेष धार्मिक विधिपूर्वक सम्पन्न गरिनेछ। महायज्ञ अवधिभर भण्डारा ९बटोर० सञ्चालन गरिने र जिल्ला भरिबाट साधु–सन्त तथा महात्माहरूको आगमन हुने तयारी भइरहेको छ।
वडा अध्यक्ष जयराम चौधरीका अनुसार माघ १३ गते २४ घण्टा निरन्तर अष्टजाम पाठ सञ्चालन हुनेछ। त्यसैगरी माघ १४ गते गाउँभरि भगवानका मूर्तिहरूलाई डोलामा राखी परिक्रमा गराइने कार्यक्रम तय गरिएको छ। माघ १५ गते विशेष धार्मिक विधिअनुसार धूमधामका साथ श्री हनुमान भगवानको प्राणप्रतिष्ठा तथा भगवान शिवको शिवलिङ्ग स्थापना गरिनेछ। माघ १६ गते उपस्थित सन्त–महन्थहरूको सम्मानसहित भण्डारा तथा बिदाई कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा बोल्दै समाजसेवी तथा पूर्व वडा अध्यक्ष शम्भुकान्त यादवले हनुमान भगवानको प्राणप्रतिष्ठा तथा शिवलिङ्ग स्थापना पश्चात् गाउँ मात्र नभई सम्पूर्ण कटहरिया नगर नै सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले धार्मिक आस्थाले भविष्यमा आउन सक्ने कुनै पनि आपत–विपतको पूर्वसंकेत प्राप्त भई समयमै सचेत हुन सकिने धारणा समेत राख्नुभयो।

सोमबार सम्पन्न कलश यात्रामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार क्षेत्र नं। ३ का गोबिन चौधरी र रामकृपाल यादव, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी, कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख सियाराम कुश्वाहा, वडा अध्यक्षहरू जयराम चौधरी र चन्दन कुश्वाहा, भूतपूर्व वडा अध्यक्ष शम्भुकान्त यादव, रामशंकर यादव, राम सुधार कुशवाहा, क्रान्ति कुशवाहा, संजय जयसवाल, अंजित कुशवाहा, उमेश सहनी, पवन चौधरीलगायत हजारौं भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
धार्मिक महायज्ञले सामाजिक एकता, आपसी सद्भाव र धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। फत्तेपुर क्षेत्रमा यस्तो भव्य धार्मिक कार्यक्रम आयोजना हुनुले स्थानीय स्तरमा उत्साह र गौरवको अनुभूति गराएको छ।


