रौतहट, १३ माघ। रौतहटको गुजरा नगरपालिकामा उपमेयर रत्ना लामामाथि हातपात र उनको सवारी साधन तोडफोड भएको घटनाले स्थानीय राजनीति तातेको छ। उपमेयर लामाले उक्त घटनामा मेयर सन्तलाल प्रसाद चौधरी निकट व्यक्तिहरूको संलग्नता रहेको गम्भीर आरोप लगाएकी छन् भने मेयर पक्षले भने आरोप अस्वीकार गरेको छ।
सोमबार अपराह्न नगरपालिका कार्यालय परिसरमै आफू बसिरहेको अवस्थामा करिब २५ जना महिलाको समूह आएर आफूलाई भुइँमा लछारपछार गर्दै कुटपिट तथा दुर्व्यवहार गरेको उपमेयर लामाको भनाइ छ। उनका अनुसार उक्त समूहमा वडा नं ५ का सचिव प्रभु नारायण चौधरीकी श्रीमती देवकी चौधरी र छोरी पुनम चौधरी समेत सहभागी थिए।
उपमेयर लामाले यो घटना सुनियोजित रहेको दाबी गर्दै मेयर चौधरीको इशारामा उनका नजिकका मानिसहरूले आक्रमण गरेको आरोप लगाएकी छन्।
उपमेयर लामाका अनुसार कार्यालय पुग्नुअघि नै उनको सवारी साधनलाई लक्षित गर्दै तोडफोड गरिएको थियो। प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडी गुजरा–१ र ९ को सिमानास्थित लमाहा खोला नजिक रोकेर मेयरका आफन्तहरू — मनोज चौधरी लगायतले क्षति पुर्याएको उनको दाबी छ।
उनले थप आरोप लगाउँदै भनिन्, “नगरपालिकाका एक कर्मचारीमार्फत मेरो गाडी चालकसँग फोन गरेर म कहाँबाट, कति बेला आउँदैछु भन्ने जानकारी लिइएको थियो। त्यसपछि योजनाबद्ध रूपमा घटना घटाइएको हो।”
घटनाको पृष्ठभूमिमा मलखाद वितरणको विषय जोडिएको देखिन्छ। उपमेयर लामाका अनुसार वडा नं। १ मा सहकारी संस्थामार्फत किसानलाई मलखाद वितरण भइरहेको थियो। तर मेयर चौधरीका आफन्तहरूले नयाँ डिलर दर्ता गर्नुपर्ने भन्दै पुराना डिलरबाट मल नलिन दबाब दिँदै आएका थिए।
“मैले कर्मचारीलाई कानुनअनुसार काम गर्न निर्देशन दिएको थिएँ,” लामाले भनिन्, “तर त्यसलाई तोडमोड गरेर मैले ठाडो आदेश दिएको भन्ने झुटो आरोप लगाइयो।”
आफूमाथि भएको दुर्व्यवहार र गाडी तोडफोडबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लिखित उजुरी दिने तयारी गरेको उपमेयर लामाले जानकारी दिएकी छन्।
गुजरा नगर कार्यपालिका सदस्य विजय साह बानियाँले पनि घटनामा मेयर निकट व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै दोषीमाथि कारबाही नभए भविष्यमा यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिएका छन्।
यता मेयर सन्तलाल प्रसाद चौधरीले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनका अनुसार किसानले समयमा मलखाद नपाएको आक्रोशका कारण स्थिति तनावपूर्ण बनेको हो।
“म त्यस दिन चन्द्रपुर गएको थिएँ। महिलाहरू आक्रोशित भएर आएका थिए, उपमेयर संयमित भएर कुरा नगर्दा विवाद बढेको हुन सक्छ,” मेयर चौधरीले बताएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डीएसपी रुपा लाबुङले घटनाबारे मौखिक जानकारी प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छन्।
गुजरा नगरपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा जसपाबाट सन्तलाल चौधरी मेयरमा निर्वाचित भएका थिए भने रत्ना लामा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।


