पोखरा, १३ माघ। पोखराबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने तीन जना बालकहरूलाई प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ। गत माघ १० गते पोखरा महानगरपालिका वडा नं. २९ घोतघोतेस्थित एक पसल अगाडिबाट चोरी भएको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन्।
मुसीटुँडा बस्ने सीताराम श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको सूचना दिएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थल आसपासका सीसीटीभी फुटेजहरूको गहन अध्ययन गर्दा तीन जना बालकहरूले उक्त मोटरसाइकल चोरी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खोजतलासका क्रममा कास्की प्रहरीले तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीसँग समन्वय गरेको थियो। सोमबार बिहान ४:०० बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी-२ गणेश टोलबाट मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
ती बालकहरूमाथि चोरी सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।


