वीरगञ्ज, १३ माघ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता (लिपनीमाल) मा आज एक उद्योगमा भीषण आगलागी भएको छ। प्रारम्भिक अनुमानअनुसार स्थानीय विजया श्री लेमिनेट प्रा.लि. मा रहेको बोइलर च्याम्बर पड्किएपछि आगलागी भएको हुनसक्ने बताइएको छ।
आगलागीको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र दुई वटा वारुण यन्त्रको सहयोग लिइरहेको जानकारी दिएका छन्।
प्रहरी अधिकारीका अनुसार, “आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ। आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप सहयोगका लागि जानकारी गराइसकेका छौँ। वारुण यन्त्रहरू केही बेरमै घटनास्थलमा पुग्ने छन् र त्यसपछि आगो नियन्त्रणको प्रयास तीव्र बनाइनेछ।”
हालसम्म आगलागी नियन्त्रणमा नआएको र मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उद्योगमा रहेका कच्चा पदार्थ र मेसिनरी उपकरणमा ठूलो क्षति पुगेको हुनसक्ने बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।


