
वीरगञ्ज, १४ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी चुनावी प्रचार गरेको दृश्य सार्वजनिक भएपछि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोप लागेको छ।
भारतीय नम्बर प्लेट BR 05 BF 9504 रहेको गाडी वीरगञ्जको घडियार्वा पोखरी अगाडि प्रयोग गरी रास्वपाले चुनावी प्रचार–प्रसार गरेको दृश्य बाहिरिएको हो। सार्वजनिक भएको उक्त दृश्यमा विदेशी नम्बरको सवारी साधन प्रयोग गरी खुलेआम प्रचार गरिएको देखिन्छ, जुन निर्वाचन आचारसंहिताविपरीत रहेको बताइएको छ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावी प्रचार–प्रसार गर्न नपाउने व्यवस्था छ। तर उक्त नियमको उल्लङ्घन गर्दै रास्वपाले भारतीय नम्बरको गाडी प्रयोग गरेको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ।
घटनापछि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ भने निर्वाचन आयोग तथा सम्बन्धित निकायले यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
यस सम्बन्धमा रास्वपाको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भइसकेको छैन।

