
रोल्पा, ०३ चैत। रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका–७ तेबाङ भैसिपुरेकी २४ वर्षकी कृष्णा पुनको सोमबार दिउँसो मृत्यु भएको हो ।
ढुंगा र माटोले बनेको दुईतले घरमा चट्याङ लागि पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । टिनको छानो भएको घरमा बसिरहेको बेला चट्याङ परेको थियो । घटनाबारे प्रहरीलाई गाउँलेले फोनमार्फत सूचना दिएका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी घटनास्थल पुगेका थिए । चट्याङ लागेको घर पुग्दा महिला मृत भेटिएको प्रहरीले जनाएको छ । कृष्णा टाउको जलेको अवस्थामा मृत फेला परेकी हुन् । हावाहुरीसँगै चट्याङ परेको थियो ।
