
रौतहट, १० चैत। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक व्यक्ति ३ दिन पछि मृत अवस्थामा फेला परेकाे छन् ।
चैत ७ गते बिहान करिब १०:३० बजे सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ नयाँबस्ती बस्ने करिब ४० वर्षीय कामी सिंह स्याङतान माछा मार्ने क्रममा बागमती नदीमा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे स्याङतानकाे भतिजा कान्छा लामाले सोही दिन राैतहट प्रहरीलाई जानकारी गराए पछि प्रहरी चौकी पौराईबाट प्रहरी टोली खटिएर खोजतलास कार्य सुरु गरेकाे थियाे । खोजी कार्यमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, आर्मी बेस चन्द्रपुर, सशस्त्र प्रहरी बल सन्तपुर तथा इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका टोलीहरू परिचालन गरिएको थियाे । विभिन्न निकायका सुरक्षाकर्मीहरूले ढुंगा प्रयोग गरी नदीमा निरन्तर खोजी कार्य सञ्चालन गरे पनि ३ दिन पछि मंगलबार नदीमा डुबेर बेपत्ता भएका स्याङतानकाे शव नदीमा तैरि रहेकाे अवस्था भेटेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
डुबेर बेपत्ता भए पछि चैत ८ र ९ गते समेत संयुक्त सुरक्षा टोलीहरूले निरन्तर खोजी कार्य जारी राखेका थियो भने मंगलबार समेत खोजी कार्य गर्दै जाँदा स्याङतानको शव नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीमा तैरिरहेको अवस्थामा फेला परेको राैतहट प्रहरीले जानकारी दिएकाे छ ।
इलाका प्रहरी कार्यालय कर्मैया, सशस्त्र प्रहरी बल सन्तपुर, नेपाली सेना तथा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी नायव उपरीक्षक रूपा लाबुङको कमाण्डमा सोको टोली घटनास्थलमा खटिएको संयुक्त सुरक्षाकर्मीकाे टोलीले ढुंगामार्फत शव नदीबाट बाहिर निकाली मुचुल्का तयार गरी पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/03/432137/?fbclid=IwY2xjawQvPJlleHRuA2FlbQIxMQBicmlkETFiZmtqbGhZdGZBNkpycnNFc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHugB3yjuIBTTfJSGdPSmsu42B1lBQro-she539AVyGLYlfSxOz7wFVx-TPJl_aem_P1hqsAyhzebNL4jmCqBfFQ
