
वीरगञ्ज, ०६ बैशाख। बाराको कोल्हवी नगरपालिका–५ सोनाभारमा शनिबार साँझ चट्याङ लागेर एक युवकको ज्यान गएको छ। खेतमा काम सकेर घर फर्किने क्रममा स्थानीय जनक चौधरीका ३६ वर्षीय छोरा लुटावन चौधरी चट्याङको चपेटामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ एक्कासी मौसममा आएको बदलीसँगै वर्षा सुरु भएको थियो। सोही क्रममा ठूलो आवाजसहित परेको चट्याङ लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। प्रहरीले मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पछिल्लो समय मनसुन पूर्वको अवधि र बेमौसमी वर्षासँगै चट्याङका घटनाहरू बढ्दै गएका छन्। चट्याङ प्राकृतिक विपद् भएकाले आकाश गर्जिँदा, मौसम खराब हुँदा वा खुला स्थानमा काम गर्दा विशेष सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।
