परवानिपुरमा ज्योति ग्रुपको क्वाटरमा भीषण आगलागी, ठूलो क्षति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
परवानिपुरमा ज्योति ग्रुपको क्वाटरमा भीषण आगलागी, ठूलो क्षति

वीरगञ्ज, २५ बैशाख। बाराको परवानिपुरस्थित ज्योति ग्रुपअन्तर्गतको ज्योति फार्मभित्र रहेको आवास गृह (क्वाटर) मा गएराति भीषण आगलागी हुँदा घरको अधिकांश भाग तथा भित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

घटना भएको समयमा घरका सबै सदस्यहरू आवास गृहबाट करिब ३०० मिटर टाढा आयोजना गरिएको सामूहिक भोज (बहुभोज) मा सहभागी हुन गएका थिए । सोही क्रममा घरमा कोही नभएको अवस्थामा अचानक आगो सल्किएको र केहीबेरमै उग्र रूप लिएको स्थानीयले बताएका छन् ।

छिमेकीहरूले घरबाट धुवाँ र आगो निस्किरहेको देखेपछि मात्रै घटनाबारे जानकारी भएको थियो । त्यसपछि स्थानीयले तत्काल प्रहरी र दमकललाई खबर गरेका थिए ।

वीरगञ्ज महानगरपालिका तथा आसपासका क्षेत्रबाट पुगेका दुईवटा दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । तर आगो नियन्त्रणमा आउनुअघि नै घरको करिब ९० प्रतिशत भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्र रहेका जिन्सी सामान, महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

आगो लाग्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट भएर वा अन्य कुनै कारणले आगलागी भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस