
काठमाडौं, ०८ जेठ। होन्डुरसमा बिहीबार भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ । जसमा १९ जना मजदुर र ६ जना प्रहरी अधिकारी रहेका छन् । अधिकारीहरूका अनुसार दुवै आक्रमणमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए ।
पहिलो आक्रमण उत्तरी होन्डुरसको ट्रुजिलो सहरस्थित एउटा बगान (प्लान्टेसन) मा भएको थियो । सार्वजनिक अभियोजक कार्यालयका प्रवक्ता युरी मोराले दिएको जानकारीअनुसार उक्त आक्रमणमा १९ जना मजदुर मारिएका छन् ।
रिपोर्टहरूका अनुसार, यो क्षेत्र लामो समयदेखि जग्गा विवाद र कृषि संघर्षको केन्द्र रहँदै आएको छ । वातावरण संरक्षणकर्मीहरूमाथि हुने आक्रमणलाई लिएर पनि यो क्षेत्र पहिलेदेखि नै चर्चामा रहने गरेको छ ।
दोस्रो आक्रमण ग्वाटेमालाको सिमाना नजिकै ओमोआ सहरमा भएको थियो, जहाँ बन्दुकधारीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । यसमा एक वरिष्ठ अधिकारीसहित ६ जना प्रहरी मारिएका छन् ।
