
हेटौंडा, २८ जेठ। मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान बस्ने करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका-७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।
बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्टट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेनाको काठमाडौं-तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।
टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो । बुधबार राति दुर्घटना भए पनि उनीहरूलाई आज बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव हेटौंडा अस्पतालमै राखिएको छ ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
