
रौतहट, २८ जेठ। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका संजय साहको किराना गुम्ती पसलमा मंगलबार राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । नारायण चोकस्थित साहको किराना गुम्ती पसलमा राति करिब १२ः०१ बजेको समयमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण किराना तथा खाद्यान्न सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको पीडित संजय साहले जानकारी दिए । साहका अनुसार आगलागी भएको जानकारी आफूलाई स्थानीय बासिन्दाले खबर गरेपछि मात्र थाहा भएको थियो। “पसल जलेर खरानी मात्र भएको छैन, मेरो सपना र भविष्य पनि यसले खरानी बनायो,” उनले दुःख व्यक्त गरे ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको बताइएको छ । घटनापछि पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको मागसमेत उठ्न थालेको छ ।
