
वीरगञ्ज, ०५ असार। मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन्। सार्वजनिक गरिएको तथ्यांकले प्रदेशमा सडक सुरक्षा गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म २१ हजार ९८९ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन संलग्न रहेका थिए। दुर्घटनाका कारण २ हजार ७४८ जनाको मृत्यु भएको छ भने १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन्।
जिल्लागत विवरणअनुसार धनुषा सडक दुर्घटनाको दृष्टिले सबैभन्दा प्रभावित जिल्ला बनेको छ। यहाँ पाँच वर्षमा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ। बारा दोस्रो स्थानमा छ, जहाँ ४ हजार ४६८ दुर्घटनामा ४१६ जनाले ज्यान गुमाएका छन्।
सर्लाही, सप्तरी, सिरहा, रौतहट र महोत्तरीमा पनि दुर्घटनाको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ। पर्सा भने तुलनात्मक रूपमा कम दुर्घटना हुने जिल्ला बनेको छ, जहाँ पाँच वर्षमा २ हजार ३५ दुर्घटनामा २०८ जनाको मृत्यु भएको छ।
राष्ट्रिय सडक सुरक्षा परिषद्, मधेश प्रदेश सरकार तथा एशियाली विकास बैंक (एडीबी) को संयुक्त आयोजनामा सम्पन्न सडक सुरक्षा कार्यशालामा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले प्रदेशको ठूलो जनसंख्या, बढ्दो सवारी चाप र विस्तारित सडक सञ्जालका कारण दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बनेको बताए। उनले ट्राफिक व्यवस्थापन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायबीचको प्रभावकारी समन्वयमार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राखे।
उनले सडक सुरक्षा नीतिनिर्माण तथा बजेट विनियोजनमा ट्राफिक प्रहरीका सुझावलाई प्राथमिकता दिन आवश्यक रहेको समेत उल्लेख गरे।
सार्वजनिक तथ्यांकले मधेशमा सडक दुर्घटना केवल ट्राफिक समस्या नभई जनसुरक्षा र सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय बनेको संकेत गरेको छ। विशेषज्ञहरूले सडक पूर्वाधार सुधार, सवारी चालकको अनुशासन, प्रभावकारी ट्राफिक निगरानी र जनचेतनामूलक कार्यक्रमलाई दुर्घटना न्यूनीकरणका प्रमुख उपायका रूपमा औँल्याएका छन्।
