वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–१ का ४२ वर्षीय कमलेश यादव, उनकी ३४ वर्षीया श्रीमती रुबी यादव र १५ वर्षीया छोरी शिवानी यादव घाइते भएका छन्। त्यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–१३ का ६४ वर्षीय रामनरेश प्रसाद, सप्तरी कञ्चनरुप नगरपालिका–१ का ४७ वर्षीय सहचालक नरेश पंजियार, पर्सा पकाहा मैनपुर गाउँपालिका–५ का २८ वर्षीय धनञ्जय प्रसाद चौरसिया, पर्सा बहुदरमाई नगरपालिका–२ की ३४ वर्षीया सुनिता यादव, सिराहा कर्जन्हा नगरपालिका–११ का ६२ वर्षीय चिनीलाल श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिका–३ का ४० वर्षीय चन्द्र तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–६ की ४५ वर्षीया दिपा घिमिरे तथा ठेगाना नखुलेका करिब ४० वर्षीय अमित कुमार गुप्ता घाइते भएका छन्।
घाइतेहरूको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज, तराई अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
बस चालक घटनापछि फरार रहेका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।