
वीरगञ्ज, २१ साउन। पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकनजिक हुलाकी सडकखण्डमा भारतीय नम्बर प्लेटको ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा नौ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ट्याङ्करका चालकलाई प्रहरीले केही समयमै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई-रिक्सालाई सोही दिशाबाट तीव्र गतिमा आएको आर.जे. १४ जी.ई. ८७१० नम्बरको भारतीय ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनापछि ट्याङ्कर र चालक घटनास्थलबाट फरार भएका थिए। तत्कालै प्रहरी परिचालन गरी ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ई-रिक्सामा सवार नौ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा भर्ना गरिएको छ।
पक्राउ पर्ने चालक भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला, साहेबगञ्ज निवासी ४८ वर्षीय धनेश्वर राय रहेका छन्।
प्रहरीका अनुसार चालकको स्वास्थ्य परीक्षण गर्दा उनले अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले मदिराको मातमा सवारी चलाएर गम्भीर दुर्घटना गराएको आरोपमा चालक तथा ट्याङ्करलाई नियन्त्रणमा राखी सवारी ज्यान तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा थप कानुनी अनुसन्धान अघि बढाइएको जनाएको छ।
