किशोर श्रेष्ठलाई लिन प्रहरी घरमै पुगेपछि उठ्यो प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १, शनिबार (१३ घण्टा अघि)
  • ५५ पटक पढिएको
किशोर श्रेष्ठलाई लिन प्रहरी घरमै पुगेपछि उठ्यो प्रश्न

३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले घरमै पुगेर साइबर व्युरोमा उपस्थित गराएको छ ।

छलफलका लागि भन्दै पत्रकार श्रेष्ठलाई साइबर व्युरोको कार्यालय पुर्‍याइएको हो । आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली श्रेष्ठको घरमै पुगेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार  उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्क नेतृत्वमा प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको घरमा पुगेको थियो ।

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो । सोही टोलीले उनलाई छलफलका लागि साइबर व्युरो पुर्‍याएको स्रोतको दाबी छ ।

समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले साइबर व्युरोमा निवेदन दिएका थिए । पत्रकार श्रेष्ठले पनि हिमेश विरुद्ध ब्युरोमै निवेदन दिएका थिए ।

साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’ ब्युरो स्रोतका अनुसार श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ । पन्तलाई पनि व्युरोमा बोलाइएको छ ।

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो । तर, बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस