रमेश कुमार यादब
कार्तिक १७, रौतहट
रौतहटको गढीमाई नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै महिला मेयर पदकी आकांक्षी पूजा झा यादवले जनतासँगको भेटघाट तथा छलफललाई तीव्रता दिएकी छन्। नगरपालिकाभित्र देखिएका बेथिति, विकास निर्माणमा भएको ढिलासुस्ती तथा शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका आधारभूत समस्यालाई समाधान गर्ने उद्देश्यसहित उनी जनताको घरदैलोमा पुग्न थालेकी हुन् । गढीमाई नगरपालिका–५ बलुवा मदनपुर निवासी यादव शिक्षित, योग्य तथा प्राविधिक ज्ञान भएकी महिला हुन्। उनले इन्जिनियरिङ विषयमा शिक्षा हासिल गरेकी छन्। कुनै पनि निर्णय आफैँ लिन सक्ने क्षमता, स्पष्ट दृष्टिकोण र नगरको विकासप्रतिको प्रतिबद्धता आफ्नो मुख्य शक्ति भएको उनको भनाइ छ।

नगरपालिकाको वर्तमान अवस्था र विगतदेखि देखिँदै आएका समस्यालाई नजिकबाट नियालेपछि राजनीतिक नेतृत्वमा आएर परिवर्तनको पहल गर्ने उद्देश्यले आफू मेयर पदको आकांक्षी बनेको उनले बताएकी छन् । यसैक्रममा सोमबार उनले गढीमाई नगरपालिका–५ अन्तर्गत पर्ने लक्ष्मीपुर पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट, साक्षात्कार तथा छलफल गरेकी छन्। कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा, महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । भेटघाटका क्रममा यादवले स्थानीय बासिन्दाका समस्या, गुनासा, अपेक्षा र नगरपालिकाको विकाससम्बन्धी सुझावहरू सुनेकी थिइन् ।
कार्यक्रममा स्थानीयवासीहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरू प्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचनका बेला विभिन्न आश्वासन र प्रतिबद्धता जनाए पनि निर्वाचित भएपछि ती प्रतिबद्धता पूरा गर्न नसकेको गुनासो गरेका थिए। कतिपय जनप्रतिनिधि निर्वाचनपछि आफ्नो टोलबस्तीमा फर्केर स्थानीयका समस्या बुझ्नसमेत नआएको उनीहरूको दुखेसो थियो। स्थानीयवासीहरूले भने, ’निर्वाचनका बेला हामीसँग अनेकौँ आश्वासन बाँडेर मत माग्ने जनप्रतिनिधिहरू निर्वाचित भएपछि हाम्रो समस्या बुझ्नसमेत आएनन्। हामीले भोग्दै आएका दुःख, पीडा र समस्याप्रति कसैले गम्भीर चासो देखाएनन्। तर आज तपाईं आफैँ हाम्रो गाउँमा आएर हाम्रो कुरा सुन्नुभएको छ, हाम्रा समस्या र गुनासा बुझ्ने प्रयास गर्नुभएको छ। यो नै हाम्रा लागि ठूलो कुरा हो ।

’ स्थानीय नागरिकहरूले अब गढीमाई नगरपालिकामा पुरानै कार्यशैली र नेतृत्वभन्दा फरक सोच, नयाँ अनुहार, शिक्षित तथा सक्षम व्यक्तिलाई नेतृत्वमा पु¥याउनुपर्ने आवश्यकता औँल्याएका थिए । विशेषगरी महिलाहरूले महिला नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै पूजा झा यादवलाई एकपटक नेतृत्व गर्ने अवसर दिन आफूहरू सकारात्मक रहेको बताएका थिए । महिलाहरूले स्थानीय तहमा महिलाको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नभई निर्णय गर्ने तहसम्म पुग्नुपर्नेमा जोड दिएका थिए। महिला नेतृत्वबाट महिला अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा विकासका विषयमा थप प्रभावकारी काम हुन सक्ने उनीहरूको विश्वास थियो।
स्थानीयवासीबाट प्राप्त माया, विश्वास र समर्थनले आफू निकै उत्साहित भएको यादवले बताइन्।
उनले भनिन्, ’राजनीति आफ्नो ठाउँमा छ, निर्वाचन र जितहार पनि आफ्नै ठाउँमा छन्। तर आज जनताले देखाउनुभएको माया, प्रेम, स्नेह र सद्भाव मेरा लागि जितभन्दा कम छैन। जनताले आफ्ना समस्या खुलेर राख्नुभएको छ, मलाई विश्वास गरेर आफ्नो कुरा सुनाउनुभएको छ। यो नै मेरा लागि ठूलो जिम्मेवारी र प्रेरणा हो ।’उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफूले टिकट पाउने वा नपाउने विषय पार्टीको निर्णय र राजनीतिक प्रक्रियासँग सम्बन्धित रहेको स्पष्ट पार्दै जनताको हकहितका लागि भने आफू सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।

पार्टीको टिकट प्राप्त हुनु वा नहुनुभन्दा पनि जनताको समस्या समाधान र नगरको समग्र विकास आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ । यादवले गढीमाई नगरपालिकाको समग्र विकासका लागि विकास निर्माणका कामलाई पारदर्शी र प्रभावकारी बनाउने, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा विस्तार गर्ने, सबै नागरिकलाई स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था गर्ने तथा नगरभित्र देखिएका बेथिति र अनियमितताको अन्त्यका लागि आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् ।
त्यसैगरी, युवाहरूका लागि अवसर सिर्जना, महिलाको हकअधिकारको संरक्षण, ज्येष्ठ नागरिकको सम्मान तथा नगरका पिछडिएका बस्तीमा आधारभूत सेवासुविधा पु¥याउन आफू निरन्तर लागिरहने उनले बताइन्।
स्थानीय तहको नेतृत्वमा शिक्षित, प्राविधिक ज्ञान भएको र जनताको समस्या बुझ्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताउँदै यादवले आफू पद र प्रतिष्ठाका लागि नभई जनताको सेवाका लागि अघि बढेको दाबी गरेकी छन्। पछिल्लो समय उनी विभिन्न वडा तथा बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्न थालेपछि गढीमाई नगरपालिकामा उनको उम्मेदवारीबारे चर्चा बढ्न थालेको छ। विशेषगरी युवा, महिला तथा ज्येष्ठ नागरिकबीच उनको घरदैलो अभियान र महिला नेतृत्वको विषय चर्चाको केन्द्र बन्न थालेको देखिन्छ।
यद्यपि आगामी निर्वाचनमा पार्टीबाट टिकट प्राप्त गर्ने र चुनावी प्रतिस्पर्धामा औपचारिक रूपमा अघि बढ्ने विषय अझै राजनीतिक प्रक्रियामै निर्भर रहनेछ। तर जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्द आएका समस्या बुझ्ने यादवको प्रयासले गढीमाई नगरपालिकाको स्थानीय राजनीतिक गतिविधिमा नयाँ बहस सिर्जना गरेको छ। जनताको विश्वास, महिला नेतृत्व र विकासको प्रतिबद्धतालाई आधार बनाएर अघि बढेकी पूजा झा यादवको राजनीतिक यात्रा आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने विषयलाई अहिले गढीमाईवासीले चासोका साथ हेरिरहेका छन्।
