सेवा–सुविधा कम भएको भन्दै हुम्ला प्रशासनविरुद्ध निर्वाचन प्रहरीको प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ५, मंगलबार (२ महिना अघि)
  • ३१ पटक पढिएको
सेवा–सुविधा कम भएको भन्दै हुम्ला प्रशासनविरुद्ध निर्वाचन प्रहरीको प्रदर्शन

हुम्ला, ०५ फाल्गुन। सेवा सविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीहरूले नाराबाजी गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए ।

‘म निर्वाचन आचार संहिताको विषयमा छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको छ ।’

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ रुपैयाँ पाउँछन् । उनीहरूले मतदानको दिनको अघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च समेत पाउँछन् ।

हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पाउँछन् ।

तर हुम्लाका निर्वाचन प्रहरीहरुले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने सुनेपछि आन्दोलनमा उत्रिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियम कानुन अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताउँदै अनलाइनखबरसँग भने, ‘केही मिसअन्डरस्ट्यान्डिङका कारण उनीहरू आन्दोलित भएका हुनसक्छन् ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस