
काठमाडौँ, ०३ चैत। आधा ग्यास भरिएको सिलिन्डर पनि नपाएर उपभोक्ताको भान्सा संकटमा परेका वेला श्रीराम ग्यासको ललितपुर हरिसिद्धिस्थित गोदाममा पूरा भरिएका (१४.२ केजी) ६ हजार ३७७ थान सिलिन्डर स्टक भेटिएको छ । सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दिउँसो अनुगमन गर्दा यति ठुलो परिमाणमा ग्यास फेला पारेको हो ।
सिलिन्डरको यो संख्या काठमाडौं उपत्यकामा रहेका श्रीराम ग्यासको सबै डिलरलाई एक चरण वितरण गर्न पुग्छ । उपत्यकाका ग्यास डिलरमा एकपटकमा ४० देखि ८० सिलिन्डर ग्यास झर्ने गर्छ । श्रीराम ग्यासको उपत्यकामा १३० डिलर छन् ।
वाणिज्य विभागका निर्देशक नरहरि तिवारीले श्रीराम ग्यासले ठुलो परिमाणमा ग्यास अनावश्यक सञ्चय गरेर कृत्रिम अभावलाई प्रश्रय दिएको पाइएको बताए । उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कारबाहीस्वरूप तीन लाख जरिवाना तिराएको छ ।
