वर्तमानकाल सम्वाददाता
बैशाख ०३, रौतहट
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएका ५२ बर्षिय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेका नेपाल भारत सीमावर्ती क्षेत्र भएर भारत तर्फ जानेक्रममा निजलाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनिया गाउँमा ७८ बर्षिय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका थिए । तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कत्र्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र निजको भाई खलिउल्लाह फरार रहदै आएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
वृद्ध तैयवको हत्या गराउनमा मुख्य योजनाकार रहेका शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले कत्र्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । मुख्य योजनाकार एवं अपराधिक कार्यका कुख्यात पेशेवर अपराधी शेख नुरुल्लाह सहितका व्यक्तिहरु सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घर सम्म ओहरदोहर गरिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएका थिए । सोही क्रममा आज विहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले भनिन् ।
पक्राउ परेका शेख नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको तथा अदालतबाट कत्र्तव्य ज्यान कसुर मुद्दामा न्यायिक हिरासतमा राख्ने अनुमती लिएर थप कुराहरुको अनुसन्धान भईरहेको समेत उनले जानकारी दिइन् । तर खलिउल्लाह अझै फरार रहेको हुँदा निजको पनि खोजी कार्य जारी रहेको उनले स्पष्ट पारिन् । सो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका एसपीको रुपमा कार्यभार सम्हाल्नु भएका दिलिप घिमिरेले रौतहट जिल्लाबाट अपराधिक कार्यलाई पूर्ण रुपमा निष्तेज बनाई यहाँको जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने प्रमुख प्राथमिकत रहेको प्रतिवद्धता जनाए ।
यसैक्रममा कुख्यात अपराधी भनिएका शेख नुरुल्लाहलाई समातिनु पनि एउटा चुनौतीको बिषय बनेका थिए तर उक्त चुनौतीहरु सकिएको हुँदा अपराध गर्नेलाई कानुनी कारवाही गरिने उनले बताए ।२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दीर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।