वर्तमानकाल सम्वाददाता
बैशाख ०३ गते ।
चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ । वर्षमा चार पटक मनाइने नवरात्रामध्ये सबैभन्दा प्रमुख शारदीय नवरात्रा असोज महिनामा तथा त्यसपछि चैत महिनामा वसन्त नवरात्राको आइतबार सातौँ दिन जिल्लास्थित शक्तिपिठहरुमा श्रद्धा एवम् भव्यताका साथ पूजापाठ
गरी मनाइँदै छ ।
रौतहट जिल्लाकै प्रसिद्ध एवम् एक सय वर्ष पुरानो दुर्गाभगवती गाउँपालिका मत्सरीस्थित दुर्गा मन्दिरमा प्रत्येक वर्षको भाँती यस वर्ष पनि वैदिक रीतिरिवाज अनुसार हरिवंश पुराण वाचन एवम् पूजा ,पाठ ,जप ,भजन कीर्तन भइरहेको दुर्गा पूजा समिति मत्सरीले जनाएको छ । हरिवंश पुराण नियम तथा श्रद्धापूर्वक श्रवण गर्नाले वंशवृद्धिसँगै मनवान्सित फल पाउने धार्मिक मान्यता रहेको कथावाचक ओमप्रकाश मिश्रले बताउनुभयो ।
चैतेनवरात्राको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैँठो दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आँठौ दिन महागौरी तथा नवौँ दिन सिद्धीरात्री स्वरूप दुर्गाभगवतीको पूजापाठ गरिने दुर्गा मन्दिर मत्सरीका मूल पुरोहित पवन झाले बताउनुभयो ।
उहाँले माता दुर्गाभगवतीको नियम निष्ठा तथा विधिविधान पूर्वकले पूजा पाठ गर्नाले रोग दुःख, कष्ट, दारिद्रयबाट मनुष्य मुक्ति पाइ परिवारमा सुख, शान्ति तथा स्मृद्धिसँगै मनवान्सित फल पाउने समेत जानकारी दिनुभयो । मत्सरी दुर्गामन्दिरमा दैनिक पूजा पाठसँगै दिनहुँ सन्ध्या आरती तथा भजन कीर्तन हुने गरेको जानकारी दिँदै अध्यक्ष झाले नवरात्राको समयमा अहिले दैनिक ११जना विद्धान पण्डितहरू द्वारा पूजापाठ तथा जप भइरहेका दुर्गा पूजा समिति मत्सरीका अध्यक्ष अभिषेक झा (बब्लु ) ले बताउनुभयो ।