बाराको पसाहा र बालगंगा खोला उत्खनन् मापदण्ड बिपरित भएको भन्दै एक वडा अध्यक्षले उत्खनन् बन्द गरेका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका–१६ का वडाअध्यक्ष हरिदेव खरेलले बाराको पसाहा र बालगंगा खोला उत्खनन् बन्द गराएका हुन् । बिहीबार बिहान स्थानीय पिलुवा युवा क्लबका युवाहरूसहित खोला अनुगमनमा पुगेका वडाअध्यक्ष हरिदेव खरेलले मापदण्ड विपरीत गिट्टी,ढुङ्गा, बालुवा निकालेको भन्दै उपमहानगरपालिका अन्तर्गत रहेका पसाहा र बालगंगा खोला उत्खनन् बन्द गरेका छन् । वडाअध्यक्ष खरेलले स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक कर्मचारीलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेको भन्दै बाध्य भएर खोला बन्द गर्न निर्देशन दिएको बताए । चालु आर्थिक बर्षको चार महिनाको लागि फागुन देखि जेठ मसान्त सम्म ४ करोड ८१ लाखमा ठेक्का सम्झौता सन्देश सप्लार्यस प्रा. लि. संग उपमहानगरले गरेको छ । करिब ७० लाख घनफिट बालुवा, गिट्टी, ढुङ्गा, ग्राभेल, उत्खनन् गर्नेगरि सन्देश सप्लार्यससँग ठेक्का सम्झौता गरिएको छ ।
जीतपुर सिमरा अन्तर्गत रहेका दुधौरा, बालगंगा र पसाहा खोला उत्खननका लागि उपमहानगरले वर्षेनी १२ देखि १४ करोडमा ठेक्का लगाउने गर्दछ । चालु आवमा भने पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि मात्रै खोला ठेक्का लागेको हो