वीरगञ्ज, १७ अषाढ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ स्थित ढोङ्गी खोलाको मसानघाटबाट जल्दै गरेको एक बालिकको शव प्रहरीले बुधबार राती नियन्त्रणमा लियो ।
राती १० बजेको समयमा लुकाएर शव जलाईरहेका बालिकाका बुवासहित अधिकतम व्यक्ति प्रहरीलाई देखेपछि फरार भएतापनि आमा, ठूली आमा र दिदीलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो ।
शंकास्पद अवस्थामा ज्यान गुमाएकी बालिकाको शवलाई लुकिछिपी जलाइरहेको कुरा छरछिमेका मान्छेले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय पोखरियाबाट एउटा विशेष टोली खटाएर जलिरहेको शवलाई राती १० बजे नियन्त्रणमा लिएको थियो ।
बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रल्हाद कार्कीका अनुसार मसानघाटस्थित ढोङ्गी खोला पुलमा रोकी राखेको अवस्थामा शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. को दुई थान मोटरसाइकल पनि बरामद गरिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बालिकाले विष सेवन गरेको खुल्यो । केही दिन अगाडि बालिका आफ्नो प्रेमीसँग लुकिछिपी भेटिरहेको देखेपछि उनकी आमाले उनलाई निर्घात कुटपिट गरेर घरमा थुनेकी थिइन् । त्यसपश्चात आक्रोशमा आएर बालिकाले आफ्नै पसलमा विक्री गर्न लागि राखिएको विष सेवन गरिन ।
बालिकाले विष सेवन गरेको उनकी आमालगायत घरका अन्य सदस्यलाई जानकारी हुँदाहुँदै उनीहरुले बालिकालाई अस्पताल लगेनन् । बालिका छटपटाइरहे पनि उसलाई कोठामा थुनेर राखेको कारण बुधबार मृत्यु भएको डिएसपी कार्कीको भनाई छ ।
बालिकाको मृत्यु भएपछि परिवारका सदस्यले घटनालाई बाहिर आउन नदिन रातीनै शवलाई मोटरसाइकलमा लिएर मसान घाट पुगे र सिमिति व्यक्तिहरुको उपस्थितिमा जलाएर प्रमाण नष्ट गर्ने योजना बनाए । सोही योजना अनुरुप उनीहरुले शवलाई ढोङ्गी खोलाको मसानघाटमा जलाइरहेका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालिकाकी आमा ४० वर्षीय आशा देवी, ठूली आमा ४० वर्षीय उर्मिला देवी र उनकी एकजना १८ वर्षीय दिदीलाई नियन्त्रणमा लिएको छ । बालिकाका बुवासहित अन्य संलग्न व्यक्तिहरुको पहिचान गरेर खोजि कार्य भइरहेको डिएसपी कार्कीले बताए ।
पक्राउ परेकाहरुविरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।