४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने ४ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले २४ घण्टाभित्रै पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लका अनुसार १२ वर्षीय बालकसँगै ४ जना पक्राउ परेका हुन् ।
साउन ५ गते बेलुका ७ बजेदेखि हराएको भन्दै बालिकाका हजुरबुवाले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य शुरु गरेको प्रहरी निरीक्षक मल्लले बताए । छपकैयास्थित खाली जग्गामा बालिकाको शब फेला परेपछि अनुसन्धानको क्रममा बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा १२ वर्षीय बालकको संलग्नता खुलेको थियो । ती १२ वर्षीय बालकसँगको सोधपुछ गर्ने क्रममा अन्य ३ जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको हो ।
जबर्जस्ती करणी तथा हत्यामा संलग्न रहेको अभियोगमा १२ वर्षीय बालक, वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी सलमान खान र अन्दाजी १८ वर्षीय फैजुल्लाह अन्सारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।
बालिकाको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । पक्राउ परेका आरोपितहरू विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।