कृष्ण तिवारी । राैतहट ।१५ गते साउन
काेविड १९ पिडित अति विपन्न परिवारकाे लागि आएकाे रकममा मान्छे हेरीहेरी छनाैट गरेकाे भन्दै गरूडा नगरपालिका वडा नम्बर ५ मा स्थानीयहरू द्वारा ताल्चा लगाईएकाे थियाे । वडा अध्यक्ष रामबिनाेद साहले लाभग्राही छनाैटका लागि पुनः सूचना निकाल्ने सहमति जनाएपछि आज ताल्चा खुलाईएकाे छ ।
शुक्रबार देखि नै स्थानीयहरूले वडा कार्यालयमा ताल्चा लगाएका थिए । तालाबन्दी पछि सेवाग्राहीहरूकाे काम नहुँदा मर्कामा परेका थिए ।
काेराेना पिडितहरूले आफूहरूकाे नाम छाेडेकाे भन्दै वडा अध्यक्षप्रति आक्राेशित बनेका थिए । आक्राेशित बनेका वडावासीहरू लाई छलफलकाे लागि वडा कार्यालयमा बाेलाएका थिए । दुई दिनकाे समय दिएर फेरि लाभग्राही छनाैट गर्ने सहमति भएपछि बन्द रहेकाे वडा कार्यालय सञ्चालनमा आएकाे हाे ।
गरूडा नगरपालिकाले गत २०७८ कार्तिक २९ गते काेराेना बाट प्रभावित अती विपन्न परिवार लाई नगद हस्तान्तरण बारे सुचना निकालेकाे थियाे । त्यसपछि सबै वडा बाट नामावली संकलन गरि लाभग्राही छनाैट गरिएको थियाे । तर गत स्थानीय तहकाे निर्वाचनमा नगरप्रमुखमा कन्थमनी जयसवाल निर्वाचित भएपछि उक्त नामावली रद गरि नयाँ नामावली छनाैट गरिएको छ । उक्त नामावली छनाैटकाे चाैतर्फी रूपमा आलाेचना हुँदै आएकाे छ ।